लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आफ्नै भवनबाट प्रशासकीय काम थालेको छ । गाउँपालिका स्थापना भएको ७ वर्षपछि पालिकाले आफ्नै भवनबाट काम थालेको हो । ठेक्का सम्झौता अनुसार २ वर्षमा सक्नुपर्ने भवन निर्माण कार्य ५ महिना अगावै सकिएपछि समयमै पालिकाले नयाँ भवनको प्रयोग गर्न पाएको हो ।
पहिलो तल्ला अपाङ्गमैत्री रहेको नवनिर्मित भवनका तीन तलामा २७ कोठा छन् । भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्षसहित सचिवालय, न्यायिक समिति, प्रशासकीय प्रमुखका साथै सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष छन् ।
पालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार यसअघि साविकको भुलभुले गाविसको भवनमा कार्यालय, पञ्चविचार प्राविको भवनमा वडा कार्यालय र खुदी बजारमा केही शाखा सञ्चालनमा थिए । प्रशासकीय भवन निर्माणपछि सवै शाखाहरु एउटै भवनमा सारिएको उनले बताए । ‘शाखाहरू छरिएर रहँदा नागरिक र कर्मचारीलाई दुवैलाई समस्या थियो । अब राहत हुने भयो,’ उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले संघीय सरकार स्थानीय पूर्वाधार कार्यालय र मर्स्याङ्दी गाउँपालिकाले ६०/४० लागतमा ५ करोड ९७ लाख ६६ हजार ७ सय ६ रुपैयाँ १० पैसामा भवन निर्माण गरेको बताए ।
