बागलुङ — मासिक डेढ लाख रुपैयाँभन्दा बढी घरभाडा तिरेको ढोरपाटन नगरपालिका आफ्नै भवनमा सरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा निर्माण थालेर गत साता पूरा भएको घरमा पालिकाले कार्यालय सारेको हो । नगरपालिका घोषणाको ८ वर्षपछि ढोरपाटनको आफ्नै भवन बनेको हो ।
संघीय सरकारको लागत साझेदारीमा पालिकाले ४ करोड ५९ लाख ३४ हजार रुपैयाँको लागतमा प्रशासकीय भवन निर्माण गरेको कार्यवाहक नगरप्रमुख धनबहादुर कायतले बताए । भवन बनेपछि गत सोमबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भवनको उद्घाटन गरेका हुन् । यो भवन बनेपछि नगरपालिकाले भाडाको घर छाडेको छ ।
आफ्नै भवन बनेपछि विकास बजेट बढाउन सकिएको कायतले बताए । ‘बर्सेनि १५ लाख सम्म घरभाडा तिर्नुपरेको रकम विकासमा लगाउन सकियो,’ उनले भने, ‘आफ्नै भवन भएपछि सेवालाई चुस्त पनि बनाउन सकिन्छ ।’ भाडाको घरमा साँघुरोमा बसेर सेवा दिइएको उनले बताए ।
घर नहुँदा सवारी पार्कमा पनि सास्ती भएको थियो । त्यस्तै अपांगता भएकालाई सेवा दिन पनि भाडाको घरमा समस्या परेकोमा अब सहज हुने उनले बताए । ढोरपाटन नगरपालिका वडा नम्बर-१ मा ४ तले भवन बनाएर नगरपालिकाले सेवा प्रवाह गरेको हो । योसँगै बागलुङका ७ पालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।
यहाँको काठेखोला गाउँपालिकाले भने आफ्नो प्रशासकीय भवन निर्माण थालेकै छैन । गलकोट नगरपालिका र जैमिनी नगरपालिकाको निर्माणाधिन भवन वर्षौंदेखि अलपत्र छन् । बागलुङमा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह छन् । तीमध्ये ५ वटा गाउँपालिकाको पक्की र अत्याधुनिक भवन बनिसकेका छन् ।
