सरकारी कर्मचारीका बालबालिकालाई हेरचाह गर्न ‘दिवा शिशु केन्द्र’

माघ २८, २०८१

प्रतीक्षा काफ्ले

'Diva Shishu Kendra' to take care of children of government employees

कास्की — पोखरा महानगरपालिका–८ सरकारी सेवामा कार्यरत कर्मचारीका बालबालिकालाई हेरचाह गर्न ‘दिवा शिशु केन्द्र’ स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको समन्वयमा उक्त केन्द्र सञ्चालनमा ल्याएको हो ।

सिमरचौरस्थित श्रीराम आधारभूत विद्यालयमा स्थापित उक्त केन्द्रको एक कार्यक्रमकाबीच उद्‌घाटन गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले कर्मचारीका शिशुलाई सुरक्षित, स्नेहपूर्ण तथा सहज वातावरणमा हुर्कने अवसर प्रदान गर्ने उद्देश्यले शिशु केन्द्र स्थापना गरिएको बताए ।

व्यवस्थित, पारदर्शी र प्रभावकारी केन्द्र सञ्चालन गर्दै कर्मचारीलाई आफ्नो कर्तव्यप्रति थप प्रेरित गर्न शिशु केन्द्रको स्थापना गरिएको मन्त्रालयले जनाएको छ । यस कदमले कार्यस्थलमा उत्पादकत्व वृद्धि गर्दै समाजमा परिवारमैत्री वातावरण सिर्जना गर्न योगदान पुग्ने मन्त्री थापाको भनाइ छ ।

सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारीले प्रदेश सरकारले प्राथमिकता र महत्त्वका साथ शिशु स्याहार केन्द्रको स्थापना गरेको बताउँदै सरकारी कर्मचारीका ६ महिनादेखि तीन वर्षसम्मका शिशुलाई उक्त स्याहार केन्द्रमा राख्न सकिने जानकारी दिइन् । 

यसका लागि दक्ष मन्टेश्वरी तालिम प्राप्त कर्मचारीको व्यवस्थापन गरिएको छ । बालबालिकाको पोषण र बालविकासलाई ध्यानमा राखेर सेवा प्रवाह गर्ने उनले बताइन् ।

प्रतीक्षा

Link copied successfully