मनाङको तिमाङ जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएन

माघ २८, २०८१

आश गुरुङ

The fire spread in the Timang forest of Manang was not brought under control

लमजुङ — हिमाली जिल्ला मनाङको चामे गाउँपालिका-१ तिमाङ गाउँ माथिको जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, डिभिजन वन कार्यालयका कर्मचारी साथै स्थानीयवासीले नियन्त्रणमा लिने प्रयास गरे पनि सफल हुन सकेको छैन ।

माघ १९ गतेदेखि जंगलमा फैलिएको डढेलो १० दिनसम्म नियन्त्रणमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए । उनका अनुसार केही दिनअघि डढेलो नियन्त्रणमा आएजस्तो थियो । फेरी बल्झिएको उनले बताए । उनका अनुसार सोमबार पनि सुरक्षाकर्मी, एक्याप, वनका कर्मचारी साथै स्थानीयवासी आगो नियन्त्रणका लागि जंगलतर्फ लागेका छन् ।

वडाध्यक्ष खड्गबहादुर गुरुङले हिउँ नपर्दा जमिन पुरै सुख्खा रहेको र डढेलो फैलिएको बताए । करिब ३ हजार मिटर उचाइको उक्त क्षेत्रका फैलिएको डढेलो नियन्त्रणमा आउन नसकेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ए क्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए । उनका अनुसार साँझपख मौसम चिसिँदै गएपछि आगो नदेखिने र दिउँसो ११ बजेपछि हावाहुरी चल्ने भएकाले आगो बल्झिने गरेको छ । डढेलोका कारण रुख बिरुवा, जडीबुटी, चराचुरुङ्गीका गुँड, बासस्थानहरु नास भएको उनले बताए ।

तिमाङ जंगलमा कति क्षेत्रफलमा डढेलो लागेको छ भनेर यकिन जानकारी लिन नसकिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनका अनुसार केही दिनअघि स्याटलाइटले मनाङको २ ठाउँमा डढेलो देखाएकोमा ८० हेक्टर क्षेत्रफलमा डढेलो फैलिएको देखाए पनि १० हेक्टर क्षेत्रफलमा डढेलो लागेको अनुमान गरे ।

जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी नरेश कुमार सिंहका अनुसार डढेलोबाट बस्तीमा हालसम्म समस्या छैन । तर, डढेलो स्यार्क्यु हुँदै सदरमुकाम चामे माथिको जंगलमा आउन सक्ने सम्भावना रहेको बताए । उनले हावाहुरी चलिरहेका कारण हावाहुरीले आगो सार्न सक्ने जोखिम रहेको बताए । डढेलो नियन्त्रण र बस्तीतर्फ आउन नदिन अग्नीरेखा निर्माण गरेको मनाङ प्रशासनले जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully