बुद्धसिंह मार्ग स्तरोन्नतिको काम सुस्त

म्याद सकिन ४ महिनामात्रै बाँकी हुँदा बल्ल ४० प्रतिशत काम

माघ २१, २०८१

सम्झना रसाइली

Buddhasingh Marg upgradation work slow

तनहुँ — गण्डकी र बागमती प्रदेशलाई छोटो दुरीमा जोड्ने बुद्धसिंह मार्गको स्तरोन्नति कार्य निकै सुस्त गतिमा भएको छ । ट्रयाक खनेको करिब ३ दशकपछि यस मार्गको स्तरोन्नति भइरहेको हो । २०७९ भदौ २७ गते यो सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरिएको थियो ।

दमौलीबाट घुमाउने घाटसम्मको ३४ किलोमिटरमध्ये दमौली बसपार्कदेखि सुडेपुलसम्मको १० किलोमिटर सडक स्तरोन्नतिका लागि मैनाचुली सफल जेवी, काठमाडौंले २०८२ जेठ २७ गतेभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । काम गर्ने समय सकिन करिब ४ महिना बाँकी रहँदा ४० प्रतिशत मात्र भौतिक प्रगति देखाइएको छ ।

सम्झौता भएको १० किलोमिटर सडक स्तरोन्नतिमा १० किलोमिटर नाली निर्माण, ९ किलोमिटर कालोपत्र, एक किलोमिटर ढलान र वल उठाउनेलगायतको काम रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख रविन्द्र तिवारीले बताए । उनले भने, ‘नाली निर्माण र ग्राभलिङ्गको काम भइरहेको छ । सडक कालोपत्र गर्ने कामले भने अपेक्षित गति लिन सकेको छैन ।’

सडक स्तरोन्नतिको कामलाई तीब्रता दिई समयमै सक्नका लागि निर्माण पक्षलाई दबाब दिइरहेको उनले बताए । प्रमुख तिवारीले भने, ‘अब चाडैनै ढलानको काम सुरु हुन्छ । त्यसपछि कालोपत्र गर्ने निर्माण पक्षको तयारी छ ।’

करिब ३४ करोड २७ लाख ४४ हजार ५६१ रुपैयाँको लागतमा ठेक्का सम्झौता भएकोमा १० करोड २४ लाख रुपैयाँ भुक्तानी भइसकेको उनले बताए । चालु आर्थिक वर्षका लागि करिव २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

२०४८ मा सदरमुकाम दमौलीबाट जिल्लाको दक्षिण भेग कछारका बासिन्दालाई सडकको पहुँच पुर्याउने उद्देश्यका साथ स्थानीयकै सक्रियतामा सडकको ट्रयाक खनिएको थियो । स्थानीयले कोदालो, गैंती, बेल्चा जस्ता घरेलु औजार प्रयोग गरी मादीको किनारैकिनार ट्रयाक खोलेका थिए ।

ट्रयाक खनेको ३१ वर्ष बितिसक्दासम्म सडक स्तरोन्नति नहुँदा स्थानीयले हिउँदमा धुलो र बर्खामा हिलोको सामाना गर्नुपरेको छ । जिल्लाको विकट कोटा, बैदी, छिपछिपे र धरमपानी, मास्दिघाट, नाल्दीपुललगायतका गाउँका बासिन्दालाई सडकसँग जोड्ने लक्ष्यका साथ साविकका गाउँविकास समिति र स्थानीयको सक्रियतामा दमौलीदेखि घुमाउनेघाटसम्म कच्ची सडक बिस्तार गरिएको थियो ।

पोखरा–डुम्रे–आँवुखैरेनी–मुग्लिङ हुँदै नारायणगढ जानुभन्दा दमौलीबाट बुद्धसिंह मार्ग हुँदै घुमाउनेघाट निस्किएर नारायणगढ पुग्न करिब २४ किलोमिटर दुरी छोटो पर्छ । तर, बुद्धसिंह मार्गलाई मुग्लिङ–नारायणगढ सडकसँग जोड्न घुमाउने घाँटमा पक्की पुल निर्माण कार्य पूरा हुन सकेको छैन । करिब १५ वर्षदेखि पुल निर्माणका विषयमा चर्चा चले पनि अझै काम हुन सकेको छैन । यस्तै, घुमाउने घाँटमा पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको पनि करिब एक दशक वितिसकेको छ ।

विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भए पनि हालसम्म फाउन्डेसनकै चरणमा छ । अहिलेसम्म दुईतिरको भागमा पिलर मात्रै ठडिएको छ । सडक डिभिजन कार्यालयले सम्झौता अनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने पटक पटक चेतावनी दिँदै आए पनि निर्माण पक्षले म्याद थप्ने तर काम अगाडि नबढाउने गरेको स्थानीयको अरोप छ ।

डिजाइन एन्ड बिल्डका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइन अनुसार पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहनेछ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत ८ करोड २६ लाख रुपैयाँ रहेको बताइएको छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडि हिड्ने भाग रहने डिजाइनमा उल्लेख छ । हेडौंडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

बुद्धसिंह मार्गमा पर्ने आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथि निर्माण भइरहेको पुल दश वर्षसम्म पनि पूरा नहुनु र अन्य चार खोलाहरूमा पुल नहुँदा आवतजावतलाई समस्या भएको भन्दै स्थानीय आन्दोलनमै उत्रिएका छन् । स्थानीयले संघर्ष समिति गठन गरी घुमाउने घाटको पुल निर्माण र सडक स्तरोन्नती कार्यलाई तीब्रता दिन सरोकारवाला निकायलाई दबाब दिँदै आएको संघर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले बताए ।

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully