तनहुँ बस दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते [अपडेट]

माघ १८, २०८१

सम्झना रसाइली

One dead, 13 injured in Tanahun bus accident [Update]

तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार दिउँसो ४ बजेतिर भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । 

चालकले नियन्त्रण गुमाउँदा बस सडक छेउको कल्भर्टमा पल्टिएको जिल्ला प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए । दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको व्यास समितिको बा ५ ख २९९९ नम्बरको दुर्घटना हुँदा चितवनको भरतपुर महानगरपालिका २२ वर्षीया सुमिना सापकोटाको मृत्यु भएको उनले बताए । दुर्घटनामा घाइते सापकोटालाई आँबुखैरेनी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

भानु नगरपालिका–५ का ३५ वर्षीय बस चालक रवीन्द्र घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै आँबुखैरेनी गाउँपालिका–३ का ४२ वर्षीया दमन्ती थापालाई थप उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको छ । थापाको अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको उनले बताए । अन्य १२ जना घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully