कास्की — नेपालमा नै पहिलो पटक प्राज्ञिक क्षेत्रबाट कुलपति नियुक्त गरिने व्यवस्था रहेको गण्डकी विश्वविद्यालयमा नयाँ कुलपति नियुक्तका लागि प्रक्रिया थालिएको छ । स्वतन्त्र रूपमा नेपालकै पहिलो कुलपति नियुक्त भएका गण्डकी विश्वविद्यालयका हालका कुलपति प्राडा गणेशमान गुरुङको कार्यकाल आगामी फागुन ३ गते सकिँदै छ ।
गण्डकी विश्वविद्यालयले नयाँ कुलपति नियुक्तका लागि न्यायिक परिषद्का अध्यक्ष संयोजक रहने गरी तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । सदस्यमा लोकसेवा आयोगका सदस्य कल्पना लम्साल र न्यायिक परिषद्बाट यमुना घले रहेका छन् ।
गण्डकी विश्वविद्यालय ऐन २०७६ को दफा २३ मा कुलपति नियुक्तसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा ३ मा कुलपति नियुक्तिका लागि सिफारिस गर्न न्यायिक परिषद्को अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिने व्यवस्था छ । जसमा प्रदेश लोकसेवा आयोगले तोकेको आयोगको सदस्य र न्यायिक परिषद्ले तोकेको न्यायिक परिषद्को सदस्य रहने प्रावधान छ । हाल न्यायिक परिषद् अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेल छन् ।
गण्डकी विश्वविद्यालय प्रदेश सरकारले स्थापना गरेको प्रदेशकै पहिलो विश्वविद्यालय हो । सिफारिस समितिले कार्यविधि बनाएर केही दिनमै दरखास्त आह्वान गरिने विश्वविद्यालयले जनाएको छ । ऐनमा सरकारले नियुक्त गरेको पहिलो कुलपतिलाई थप एक पदावधिको लागि नियुक्त गर्न सकिने प्रावधान छ ।
विद्यावारिधि उपाधि हासिल गरी प्राज्ञिक, प्रशासनिक वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको र ४५ वर्ष उमेर पुगेको व्यक्ति कुलपतिका लागि योग्य हुनेछ । सिफारिस समितिले कुलपति पदमा नियुक्त हुन योग्य ३ जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । न्यायिक परिषद्बाट सिफारिस भएका तीन व्यक्तिमध्ये मुख्यमन्त्रीले कुनै एक जनालाई कुलपति नियुक्त गर्नेछन् ।
सरकारले पहिलो कुलपति नियुक्त गर्दा न्यायिक परिषद् गठन भएको थिएन । कुलपति नियुक्तिका लागि सिफारिस गर्न प्रदेश सरकारको शिक्षा हेर्ने मन्त्रीको संयोजकत्वमा प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष र प्रमुख सचिव सदस्य रहेको ३ सदस्यीय समितिको व्यवस्था थियो । हालका कुलपति प्राडा गणेशमान गुरुङ त्यही समितिको सिफारिसमा नियुक्त भएका हुन् ।
नेपालमा नै पहिलो पटक स्नातक तहमा खेलकुद व्यवस्थापनको अध्यापन गराएको गण्डकी विश्वविद्यालय अहिले मुस्ताङचोकस्थित हवाई विभागको भवनबाट सञ्चालित छ । पोखरा महानगर–३२ ज्ञान कुञ्जमा उपयोगका लागि ५२६ रोपनी जग्गा लिएर गण्डकी विश्वविद्यालयका स्थायी वा अस्थायी संरचना निर्माण भएका छन् । प्रि–फ्याव भवन निर्माण भइसकेका छन् भने मुख्य प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छ ।
हाल यस विश्वविद्यालयमा खेलकुद व्यवस्थापनमा स्नातक (बिएसएम)संगै सूचना प्रविधिको स्नातक (बिआइटी) ब्याचल अफ फार्मेसी (बिफार्म), ब्याच लर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए), ब्याचल अफ आर्ट्स ब्याचलर अफ ल (बिएलएलबी) र मास्टर अफ इन्फरमेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स (एमआइटी एआई) पढाइ हुन्छ ।
एमआइटी यस वर्षदेखि सुरु गरिएको हो । हाल ड्याम साइड, महेन्द्र पुल र लेखनाथमा छरिएको अवस्थामा अध्यापन गराइएको छ । केही समयपछि सबै विषयका पढाई एकै ठाउँबाट हुने गरी तयारी भइरहेको रजिस्ट्रार कैलाश तिमिल्सिनाले बताए ।
१० वर्षे रणनीतिक योजना तय गरी अपेक्षित उद्देश्य प्राप्त गरेको कुलपति प्राडा गणेशमान गुरुङ बताउँछन् । १३ वटा पाठ्यक्रम निर्माण गरेको गण्डकी विश्वविद्यालयमा आगामी दिनमा एमबीबीएस र बीडीएस पढाउने तयारी भइरहेको कुलपति गुरुङले बताए । उनका अनुसार यिनका लागि पाठ्यक्रम तयार भइसकेको छन् ।
५ वर्षको अवधिमा चार वटा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गरेको गण्डकी विश्वविद्यालयले पठनपाठनसँगै अनुसन्धान र आविष्कारको क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
विशिष्ट किसिमको अनुसन्धान र अन्वेषण तथा आविष्कार केन्द्र सञ्चालनमा आएपछि आवश्यकतामा आधारित प्रविधियुक्त ८ वटा उपकरण निर्माण गरेको छ । यस विश्वविद्यालयमा विभिन्न ५३ जिल्लाका ६७५ विद्यार्थी अध्ययनरत छन् ।
