स्याङ्जा — स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ मा निर्माणाधिन नवग्रह मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालकै पहिलो नवग्रह मन्दिरको प्राणप्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रीको अवसर पारेर फाल्गुन ६ देखि १४ गते सम्म गरिने तयारी भइरहेको छ । त्यस अवसरमा १ करोड २५ लाख दियो प्रज्वलन गरिने पालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
१ सय ४४ वर्षमा परेको महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने भएकाले यस अवसरमा अनुष्ठान गर्नेगरी नवग्रह मन्दिरको निर्माण गरिएको तिवारीको भनाइ छ । उनका अनुसार विभिन्न शक्तिपीठहरुमा एक छेउमा नवग्रहको प्रतिमा राखेर पुजा गर्ने गरिएको भएपनि देश-विदेशमा सिद्दिप्राप्त योगीहरूको सुझावअनुसार नवग्रह मन्दिर निर्माण गरिएको हो ।
हाल नवग्रह (नौ आकाशीय पिण्ड) को मन्दिर भारतको आसमस्थित चित्रसाल पहाडमा मात्र छ । निर्माण हुँदै गरेको मन्दिर आसमको भन्दा फरक रहेको तिवारीको दाबी छ । मन्दिरको मुख्य स्तभ नवभुज आकारको हुनेछ । २७ फिट माथि फर्केको अग्लो ब्रह्माणीय मुर्तीको दर्शन प्रत्येक वर्षको गणेश चतुदर्शीमा मात्र गर्न पाइनेछ ।
नवग्रह मन्दिरसँगै बनाईएको षट्कोणको बीचमा पशुपतीनाथको जस्तै पञ्चमूखी शिवलिङ्ग राखिने र अन्य कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमान र दुर्गा भवानीको मूर्ति राखिएको छ । मन्दिरको एक ठाउँबाट छिरेपछि ९ चक्रमा रहेका नवग्रह मन्दिरलाई ९ पटक परिक्रमासहित पूजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने गरी बनाइएको छ ।
नवभुज रहने पिलरमा १३ फिटमा नौवटा ग्रहका प्रतिक रहेका छन् भने त्यसमाथि नवभुज आकारको १४ फिटका पिलर छन् । मन्दिर शनिबर मात्र खुल्ने जनाइएको छ । ९ चक्रमध्ये एक चक्रमा भने अन्य दिनमा पनि पूजाआजा गर्न पाईने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत पोखरेलले बताए । उनका अनुसार पिलरको सबैभन्दा माथि सूर्यतर्फ फर्केको सौर्यमण्डलीय (ग्रह) को प्रतिमा छ ।
गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब ५२ किमीमा रहेको मन्दिर निर्माणसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने पालिका अध्यक्ष तिवारीको विश्वास छ । पालिकालाई धार्मिक पर्यटनको हव बनाउने योजनानुसार नवग्रह मन्दिर निर्माण गरिएको उनको भनाइ छ ।
