माघे औंशीमा त्रिवेणीधाममा घुँइचो  

माघ १६, २०८१

नारायण शर्मा

Maghe visited Trivenidham in Aunshi

नवलपरासी — माघे औँशी मेलाका लागि त्रिवेणीधाममा नेपाल भारतका हजारौँ तीर्थालु भक्तजन्‌हरूको भीड लागेको छ । 

मेलाको अघिल्लो दिन मंगलबार साँझबाटै नेपाल भारतका हजारौँ श्रद्धालुहरू त्रिवेणीका मठमन्दिरमा भरिभराउ भएका थिए ।

औँशीका अवसरमा त्रिवेणीधामस्थित नारायणी नदीमा स्नान गर्ने र पितृहरूको श्राद्ध गर्नका लागि श्रद्धालुहरू यहाँ आउने प्रचलन सदियौँ पुरानो हो । मेलाका लागि सबै तयारी पूरा भएको र यहाँका संघसंस्था परिचालन गरेर श्रद्धालुहरूको सुविधामा ध्यान दिइएको त्रिवेणी गजेन्द्रमोक्ष क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपिन्द्रेश्वर भुसालले जानकारी दिए ।

सदियौँ अघिदेखि माघे औँशीका अवसरमा यहाँ स्नान गर्ने र दान गर्ने श्रद्धालुहरूको घुँइचो लाग्ने गरेको हो  । स्वर्णभद्रा, पुर्णाभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाममा भारतको बिहार, उत्तर प्रदेश, लखनउ, पटनादेखिका श्रद्धालुहरू आउने चलन छ । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले त्रिवेणीमेला व्यवस्थापनका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

Maghe visited Trivenidham in Aunshi

उनले मेलामा आउने भक्तजनको सुरक्षा र बासस्थान व्यवस्थापनमा विषेश ध्यान दिइएको सुनाए । यस पटक त्रिवेणीधाममा २ लाख भन्दा बढी भक्तजनहरू आउने अनुमान गरिएको उनले बताए । त्रिवेणीमा रहेका ५ दर्जन भन्दाबढी मठमन्दिरमा भक्तजनहरू आएर मंगलबार रातिदेखि नै भजनकीर्तन गरेर जाग्राम बसेका छन् । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully