मनाङको निगालोघारी खोंचमा भेटिएको शव पहिचान

माघ १४, २०८१

आश गुरुङ

Identification of the body found in Nigaloghari Khonch in Manang

लमजुङ — मनाङको नासों गाउँपालिका ३, निगालोघारीको खोल्सी खोंचमा आइतबार भेटिएको शव पहिचान भएको मनाङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी प्रहरी निरीक्षक चिरन्जीवी पाण्डेयका अनुसार उक्त शव मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ रातेमाटेका ४६ वर्षीय बाबु घलानको रहेको खुलेको छ ।

उनका १८ वर्षीय छोरा सुनिल घलानले आफ्नो बुवा हो भनी पहिचान गरेपछि सोमबार पोस्टमार्टम गरी शवको जिम्मा लगाएको प्रहरी निरीक्षक पाण्डेयले बताए । उनका अनुसार सडेगलेको अवस्थामा भेटिएको शवलाई प्रहरीले मुचुल्का गरी सदरमुकाम चामेस्थित जिल्ला अस्पतालमा लगेर राखिएको थियो ।

उनका अनुसार गत कार्तिक २७ गतेदेखि निगालोघारी क्षेत्रमा ज्याला मजदुरी गर्दै आएका घलान मंसिर ३० गते बिहानदेखि हराएको खबर प्रहरीमा प्राप्त भएको थियो । त्यतिबेला प्रहरी र स्थानीयले खोजी गर्दा पनि फेला परेको थिएन ।

आइतबार बिहान साढे ८ बजेतिर निगालोघारीको भीर कङसुङ खोलाको खोंचमा पुरुषको शव फेला परेको भनी स्थानीयले सूचना दिएपछि प्रहरीले उक्त शवलाई उठाएर घटनास्थल शव जाँच प्रकृति मुचुल्का गरी प्रारम्भिक अनुसन्धान गरेर शवलाई सुरक्षित राखेको थियो ।

हराएका व्यक्ति हुन सक्ने भन्दै सनाखतका लागि उनका घरपरिवारमा खबर गरेकोमा छोरा आएर सनाखत गरेको प्रहरीले जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully