नीलगिरि हिमाल फेदमा सातादेखि डढेलो

माघ १४, २०८१

घनश्याम खड्का

A fire has been raging at the foot of the Nilgiris for a week

म्याग्दी — अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत पर्ने नीलगिरि साउथ हिमालको दक्षिण–पूर्वी फेदमा रहेको संरक्षित राष्ट्रिय वनमा डढेलो लागेको छ । मुस्ताङको घाँसास्थित प्रहरी चौकीका अनुसार नीलगिरि साउथ हिमालको फेदमा पर्ने म्याग्दी–मुस्ताङ सीमावर्ती जंगलमा एक सातादेखि डढेलो लागेको हो ।

एक्याप अन्नपूर्ण गाउँपालिका संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर गुरुङले डढेलो मुस्ताङबाट म्याग्दीतर्फ सर्दै आएको बताए । केही दिनदेखि मुस्ताङमा चलेको हावाहुरीले डढेलोलाई झनै बढाएको छ । डढेलो लागेको क्षेत्र बस्तीदेखि धेरै टाढा पर्छ । बाक्लो हिउँले छोप्नुपर्ने हिमाली चरन क्षेत्रमा माघमै डढेलो लागेको हो । हिउँ र पानी नपर्दा सुक्खा बढेकाले डढेलो बढेको स्थानीयको अनुमान छ ।

‘बेनी–जोमसोम सडक खण्डको घाँसा तथा कालीगण्डकी नदीपूर्व हिमाल फेदका जंगलमा निरन्तर डढेलो छ । बादलजस्तो बाक्लो धूवाँले ढाकिएकाले आगोको लप्का भने तलबाट देखिएको छैन,’ मुस्ताङको घाँसा प्रहरी चौकीका असई विनय रेग्मीले भने, ‘हिउँ/पानी नपरी डढेलो रोकिने अवस्था छैन । खोल्सासम्म पुगे मात्रै आगो निभ्न सक्छ । हाम्रो क्षमताले नियन्त्रण गर्न सम्भव छैन ।’

डिभिजन वन कार्यालयको अभिलेखअनुसार म्याग्दीको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमध्ये ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, एक्यापले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ । वन कार्यालयले व्यवस्थापन गर्ने ७९ हजार ४ सय ३९ हेक्टरमध्ये २४ हजार २ सय २ हेक्टरमा ३ सय १० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ । करिब ५ हेक्टर कबुलियती, धार्मिक र निजी वन छ । बाँकी सबै राष्ट्रिय वन हो ।

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully