तनहुँ — व्यास नगरपालिकाले वडा नं. १० शिशुवा भतेरीमा पाँच वर्षदेखि सञ्चालन गर्दै आएको गौ संरक्षण केन्द्र गिद्धको जमघटस्थल बनेको छ । किसानले बुढा भएका, रोगी, थुन सुकेर छाडा छाड्ने क्रम बढ्दै गएपछि छाडा गाईगोरुलाई व्यवस्थित रुपमा व्यवस्थापन गर्न नगरपालिकाले गौ संरक्षण केन्द्र सञ्चालन गरेको छ । तर यही ठाउँमा पछिल्लो समय गिद्धको हुल भेटिन्छ ।
छाडा चौपायाले किसानको बाली खाएर नोक्सान गरिदिने, सडक अबरुद्ध गरेर दुर्घटना निम्त्याउने, सडक, बस्ती फोहोर गर्न थालेपछि नगरपालिकाको सक्रियतामा २०७६ बाट गौं संरक्षण केन्द्र सञ्चालन गरिएको हो । केन्द्रमा मरेका गाईगोरु खाल्डो खनेर फाल्न थालेपछि वरपर गिद्ध आउने क्रम बढ्दै गयो ।
प्रकृतिको कुचीकारका रुपमा चिनिने लोपोन्मुख चरा गिद्ध अहिले केन्द्र वरपर ठूलो संख्यामा जमघट हुने गरेका छन् । सिनो खाने पर्खाइमा यस क्षेत्रमा करिब दुई सय हाराहारी गिद्ध देखा पर्ने गरेको व्यास–१० का पूर्व वडाध्यक्ष तुलसीराम सापकोटा बताउँछन् ।
उनले भने, ‘गाईगोरु मरेको दिन गौशाला आसपास दुई सय बढी गिद्ध केही सिनो खाँदै, केही चौरमा त केही खोला पारिको जंगलका अग्ला रुखमा बसिरहेका देखिन्छन् ।’ सदरमुकाम दमौलीबाट करिब ६ किलोमिटर दूरीमा रहेको मादी नदी किनारमा गौ संरक्षण केन्द्र छ । गौशालाको पञ्चिम तर्फ मादी नदी बग्छ भने नदी पारि सिमलका अग्ला रुखसहितको जंगल छ । गौशालाको पूवतर्फ मिदिम हाइड्रो पावरको भोर्लेटार–दमौली ३३ केभी प्रशारण लाइनका पोल छन् ।
गौ संरक्षण क्षेत्रमा रहेका विद्युतका पोल गिद्धका लागि पासो थापे जस्तै बन्ने गरेका छन् । पोलमा आराम गर्ने क्रममा करेन्ट लागेर गिद्ध मर्ने गरेको पूर्व वडाअध्यक्ष सापकोटा बताउँछन् । उनका अनुसार गत साता एउटा गिद्ध करेन्ट लागेर मर्यो । २०७८ माघमा एकै दिनमा ३ वटा गिद्ध मरेका थिए भने एउटा गिद्ध करेन्ट लागेर घाइते भएको थियो ।
तनहुँको व्यास नगरपालिका–१० शिशुवा भतेरीमा करेन्ट लागेर मरेको गिद्ध । फाइल तस्बिर : सम्झना/कान्तिपुर
‘गौशालासँगै बिस्तार गरिएको प्रशारण लाइनको तार–पोलमा बस्न खोज्दा तथा उड्ने क्रममा पखेटाले छोइदा करेन्ट लागेर गिद्ध मर्ने गरेका छन्’, उनले भने । यसैवर्ष करेन्ट लागेर ३ वटा गिद्ध मरेको स्थानीय रामप्रसाद सापकोटाले दाबी गरे । उनले भने, ‘हाइड्रो पावरले दीर्घकालीन रुपमा पर्ने असरको अध्ययन नगरी हाइटेन्सन लाइन विस्तार गर्दा संकटापन्न गिद्धलाई पासो थापेको जस्तो भएको छ । गौशालामा सिनो खाना आउने गिद्धको संख्या बढ्दै गए पनि करेन्ट लागेर मर्नेको संख्या पनि बढ्दै गएको छ ।’
करिब दुई सय रोपनीमा सञ्चालित गौ संरक्षण केन्द्रमा हाल ११६ गाईगोरु छन् । वातावरण प्रदुषण, दुर्गन्ध र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने गिद्ध दैनिक यसरी मरेको देख्दा दुःख लागे पनि आफुले केही गर्न नसक्ने सापकोटाले बताए । उनका अनुसार गौशालामा एकै दिनमा २/३ वटासम्म बुढा गाईगोरु मर्दा २ सय बढी गिद्ध आउने गर्छन् । तर, सिनो खाएर विश्रामका लागि अग्ला स्थान खोज्दै जाँदा विद्युतको पोल वा तारमा ठोकिन पुग्छन् ।
यसरी गिद्ध पोल वा तारमा बस्न खोज्दा करेन्ट लागेर मर्ने तथा घाइते हुने गरेका छन् । प्रशारण लाइनबाट भएका घटनाका विषयमा मिदिम हाइड्रोका संचालक र विद्युत प्राधिकरण तनहुँलाई पटकपटक पत्रचार गरी समस्या समाधान गरिदिन आग्रह गर्दै आए पनि सुनुवाई नभएको उनले बताए ।
विद्युत प्रशारण लाइनसँगै गौ संरक्षण केन्द्र नजिकै मादी नदीमा रहेको दुम्सीघाँटका कारण पनि अहिले गिद्ध संरक्षणमा बाधक बन्दै गएको स्थानीय सापकोटा बताउँछन् । उनले भने, ‘गौशाला क्षेत्रबाट दैनिक बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म टिप्पर र ट्रक ठूलो आवाज गरेर ओहोरदोहोर गर्छन् । ठूला सावरी साधानबाट निस्कने आवाजले गिद्ध तर्सिने र राम्रोसँग सिनो समेत नखाने समस्या देखिएको छ ।’
यस्तै, प्रशारण लाइनका कारण गिद्ध समस्यामा परेपछि गिद्धको संरक्षणका लागि भन्दै ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षेमताको तनहुँ जलविद्युत आयोजनाले ‘गिद्ध आरामस्थल’ निर्माण गरिदिएको छ । वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाले गौ संरक्षण केन्द्रस्थलमा गिद्धको बाँसस्थान प्रभावित हुन नदिन गिद्ध आरामस्थल निर्माण गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए ।
‘आयोजनाले उक्त केन्द्रको परिसरमा स्थानीय स्रोत रसाधनको प्रयोग गरी पाँच वटा टेलिस्कोपिक पोल जडान गरेको छ’, उनले भने, ‘हरेक पोलमा गिद्धलाई बस्नका लागि फलामको आर्म राखिएको छ । फलामको आर्मका कारण गिद्धलाई कुनै नकारात्मक असर पर्न नदिई सुरक्षित बनाउन आर्मलाई काठले ढाँकिएको छ ।’
गौशाला आसपास निख्खर कालो, सेतो, घाँटीमा बाक्लो रौं भएको, घाँटी खुइले, कान लामो भएको, राजलगायत ७ प्रजातिका गिद्ध देखा परेको पूर्ववडाध्यक्ष सापकोटाले बताए । ‘अप्रत्यासित रुपमा गौशालाको कारण गिद्ध संरक्षण र गिद्ध अध्ययन अवलोकनको केन्द्रसमेत बन्दै गयो’, उनले भने, ‘तर, यसलाई व्यवस्थापन र सुरक्षाको पाटो मिलाउने समस्या खड्किन थालेको छ ।’
उक्त गौशालालाई गिद्ध रेस्टुरेन्टको रुपमा स्थापना गर्दै गिद्ध संरक्षण गर्ने योजना रहेको उनले बताए । उनले भने, ‘गिद्धको अभिलेख राख्न, प्रजनन् वातावरण बनाउने हाम्रो प्रयास छ । यसका लागि सरोकारवाला निकायबाट साथ सहयोगको अपेक्षा गरेका छौं ।’ गिद्धलाई बस्नका लागि अग्ला रुख आवश्यक पर्ने भएकाले डिभिजन वन कार्यालय, तनहुँलाई आसपासको क्षेत्रमा रहेका सिमलका रुख नकाट्न पत्रचार गरिएको र व्यक्तिका जग्गामा रहेका सिमलका रुख पनि नकाट्न अनुरोध गरिएको उनले बताए ।
उनका अुनसार २०७९ मा यस क्षेत्रमा करिव २० वटा सिमलका विरुवा रोपिएकोमा ८ वटा विरुवा हुर्किएका छन् । नेपालमा ९ प्रजातिका गिद्ध पाइने चराविद् कृष्ण भुषाल बताउँछन् । यी मध्ये ६ प्रजातिको गिद्धले नेपालमै गुँड बनाएर बच्चा कोराल्ने गर्छन् भने बाँकी ३ प्रजातिका गिद्ध बसाई सराई गरेर आउने उनले बताए । गौं संरक्षण केन्द्रमा बसाईसराई गरी आएकामध्ये राज गिद्ध मंगोलिया र एशिया, खैरे गिद्ध युरोप र मध्य एशियामा प्रजनन् गर्छन् । बटुवा गिद्ध भनिने यिनीहरु गर्मीयाम सुरु भएसँगै फर्किन्छन् ।
नेपालमा २०४५/०४६ सम्म प्रशस्त रुपमा गिद्ध पाइने हुँदा यसतर्फ संरक्षणतर्फ कसैको ध्यान नभएको चराविद् भुषालले बताए । २०५० वरिपरि आउँदा गिद्ध तिव्र रुपमा घटे पछि संरक्षणको काम सुरु भएको हो । नेपालमा सन् २००२ बाट गिद्धको अनुगमन सुरु गरिएको हो । सन् २००६ सालमा गिद्धलाई हानी पुर्याउने औषधिमा रोक लगाइयो । गिद्ध घटेको कारण थाहा भएपछि संरक्षणको काम सुरु भयो ।
उनका अनुसार सन् २००८ मा चितवनमा गिद्ध प्रजनन् केन्द्र खोलेर गिद्धका बच्चा हुर्काएर प्रजनन् गराउन थालिएको थियो । सन् २००९ बाट गिद्ध संरक्षण कार्ययोजना बनाएर संरक्षणको काम भइरहेको छ । संकटापन्न गिद्ध संरक्षणका लागि नेपालमा अनेक प्रयास भैरहेका छन् । नेपालको गिद्ध संरक्षणका प्रयास विश्वकै नुमनाको रुपमा लिइएको उनले बताए । अग्ला, ठूलो सिमलका रूखमा बस्न रुचाउने गिद्ध पश्चिम नेपालको तराई र मध्यपहाडी वनमा बाक्लो बासस्थान रहेको पाइन्छ ।
