गोरखा — बारपाक सुलिकोट गाउँपालिकाले विद्युत् उत्पादकलाई गाउँपालिकाले निर्धारण गरेको शुल्क तिरेर जलविद्युत् उत्पादन सर्वेक्षण अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।
शनिबारको गाउँसभाको १६ औं अधिवेशनमा १ मेगावाटसम्मको जलविद्युत् उत्पादन सर्वेक्षण अनुमति शुल्क प्रस्ताव गरी पारित गरिएको छ । २५० किलोवाटसम्म २ लाख, ५ सय किलोवाटसम्मको ३ लाख, ७ सय ५० किलोवाटसम्म ४ लाख र १ मेगावाटसम्मको ५ लाख दररेट तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए । ‘पालिकाको आन्तरिक स्रोत बढाउन र जलविद्युत् कम्पनीलाई करको दायरामा ल्याउन खोजेका हौं,’ उनले भने,‘अन्यत्र पालिकामा भएको प्राक्टीसलाई पनि हेरेर यो निर्णय भएको हो ।’
विद्युत् उत्पादन अनुमति पत्र निर्देशिका २०७५ बमोजिम १ मेगावाटसम्म विद्युत् उत्पादनको अनुमति दिने अधिकार स्थानीय तहलाई रहेको उनले बताए । अधिवेशनमा आर्थिक ऐनको संशोधनमा गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले जलविद्युत् उत्पादन सर्वेक्षण अनुमति शुल्कको प्रस्ताव पेस गरेकी थिइन् । उक्त प्रस्तावलाई वडा नम्बर ६ का अध्यक्ष बावुलाल गुरुङले समर्थन जनाएका थिए । अधिवेशनबाट पारित गरेसँगै कार्यविधि बनाएर अघि बढ्ने गाउँपालिकाको तयारी छ ।
विद्युत उत्पादनको अनुमति दिँदा एकमुष्ट रुपमा तोकिएको शुल्क लिने आलेले बताए । ‘कार्यविधि बनेपछि अहिले संचालनमा रहेको जलविद्युत् पनि करको दायरामा आउने भयो,’ उनले भने । पालिका भित्रका खोलाबाट अब विद्युत् उत्पादन गर्दा तिर्नुपर्ने करलाई व्यवस्थित गरिएको उनले बताए ।
कार्यविधिले गाउँपालिका भित्रका विद्युत् उत्पादकलाई नियमनमा पनि सहज बन्ने उनले बताए । अधिवेशनले यसै वर्ष सडक गुरुयोजना बनाउने पनि निर्णय गरेको छ । ‘भवन निर्माण आचारसंहिताका सडकको मापदण्ड व्यवहारिक भएन भन्ने गुनासो थियो, त्यसमा संशोधन गरेका छौं,’ उनले भने,‘यस वर्ष सडक गुरुयोजना बनाउने र आगामी वर्षदेखि घर नक्सा पास गर्नुपर्ने व्यवस्था गर्न लागेका हौं ।’
संघ र प्रदेश सरकारबाट गाउँपालिकाभित्र योजना संचालन गर्दा प्राकृतिक स्रोत साधनको कर तिनुपर्ने पनि व्यवस्था गरिएको छ । ‘स्थानीय तह आफैले कार्यान्वयन गरिरहेको योजनामा प्राकृतिक स्रोत साधनको कर लिएका थियौं, प्रदेश र संघको योजनाको हकमा समस्या थियो,’ उनले भने,‘यस विषयमा प्रदेश र संघलाई पनि पत्राचार गरेका छौं, ढुंगा, गिट्टी, बालुवा लगायतका प्राकृतिक स्रोत साधान उपयोग कर तिर्नुपर्छ भनेर पनि निर्णय भएको छ ।’
