लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिकामा अब हरेक महिनाको १५ गते हाटबजार लाग्ने भएको छ । यसअघि चाडपर्वलक्षित हाटबजार लाग्दै आएको थियो ।
मर्स्याङ्दी गाउँपालिका–३, खुदीस्थित गाउँपालिकाको कृषि सेवा केन्द्रमा गाउँपालिकाद्वारा गठित कृषि तथा पशु हाटबजार सञ्चालन समितिले हाटबजार सञ्चालन गर्नेछ । यस कार्यका लागि गाउँपालिकाले सहयोग गर्नेछ ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले कार्यपालिका निर्णय र कृषि तथा पशु हाटबजार कार्यविधि बनाएर हाटबजार सञ्चालन सुरु गरेकामा अब हरेक महिनाको १५ गते हाटबजार सञ्चालन गरिने बताए ।
कृषि उत्पादन बढाउँदै उत्पादक र उपभोक्ता दुवैलाई सहजताका लागि महिनाका एक पटक हाटबजार सञ्चालन गर्न लागेको उनले बताए । हाटबजारमा खसीबोका, भेडा, लोकल कुखुरा, स्थानीय किसानले उत्पादन गरेका तरकारी, रैथाने बालिका परिकार, मह, अचार, मासु काट्ने अचानोलगायतका घरेलु उत्पादन बिक्री गरिनेछ ।
हस्तकला उपजतर्फ डोको, नाम्लो, दुनाटपरी, डोको, नाम्लोलगायतका वस्तुहरू राखिनेछ । कृषि उत्पादनतर्फ काउली, बन्दा, आलु, लसुन, गोलभेडा, काउली, डल्ले खुर्सानीलगायत राखिनेछ । खाद्यान्नतर्फ चामल, कागुनो, कोदो, मकैको पिठो, मास, दाललगायत राखिने हाटबजार सञ्चालन समितिका अध्यक्ष भीष्मकान्त कुइँकेलले बताए ।
यस्तै, भीरमह, घरमहसमेत बिक्री गरिने उनले बताए । कृषक आफैंले कृषि उत्पादन बिक्री गर्न सक्ने भएकाले कृषक र उपभोक्ता दुवैलाई सहज हुने उनले बताए । कृषि उपज तथा पशु उत्पादनका उपभोग्य वस्तुको यसअघि नै गाउँपालिकाले न्यूनतम समर्थन मूल्य निर्धारण गरिसकेको छ ।
स्थानीय कृषि उत्पादनलाई बढावा दिन र बाह्य क्षेत्रबाट कृषि उपजको आपूर्ति न्यूनीकरण गर्न गाउँपालिकाले गाउँपालिका केन्द्रनजिकै खुदीमा नियमित रूपमा हाटबजार सञ्चालन गर्न लागेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले ग्रामीण कृषिजन्य उत्पादनलाई बजारीकरण गर्न र गाउँपालिकाका किसानलाई व्यावसायिक उत्पादनमा जोड्न नियमित रूपमा हाटबजार सञ्चालन गर्न लागिएको बताए ।
