बालिका अपहरणका आरोपी २ जना पुर्पक्षका लागि कारागार चलान

एक जनालाई बाल सुधारगृह पठाइयो

माघ ११, २०८१

आश गुरुङ

Jail for 2 accused of girl child abduction

लमजुङ — १४ वर्षीया बालिकालाई अपहरण गरी भारत लगेको घटनाका आरोपी २ जना मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका छन् । एक जना भने उमेर नपुगेको भन्दै अदालतले बाल सुधारगृह पठाएको छ । लमजुङ जिल्ला अदालतले भारतको मोतिहारी घर भई हाल बेंसीसहर बस्दै आएका ४० वर्षीय युवक र उनकी श्रीमतीलाई कारागार पठाएको हो । दम्पतीका १७ वर्षीय छोरालाई भने बाल सुधारगृह पोखरा पठाएको छ ।

जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले मंगलबार दम्पतीलाई मुद्दा पुर्पक्षका लागि कारागार पठाएको हो । उनीहरुका छोरालाई बाल सुधारगृह पठाउन आदेश गरेको हो । उनीहरुविरुद्ध अपहरण, शरीर बन्धक साथै जबरजस्ती करणीको अभियोग लागेको छ ।

प्रहरी निरीक्षक राजकिशोर साह तेलीका अनुसार किशोरीलाई मंसिर २४ गते बिहान साढे ८ बजेतिर उनका परिवारलाई थाहै नदिई बेंसीसहरबाट लगेको र नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट उद्दार गरिएको थियो र प्रहरीले उक्त क्षेत्रबाट परिवारका तीनै जनालाई पक्राउ गरेको थियो ।

उनीहरूले बेंसीसहरमा बस्दै आएकी १४ वर्षिया बालिकालाई मंसिर २४ गते अपहरण गरेर भारततर्फ लाँदै गरेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीले पुस १५ गते नेपाल–भारत सीमा क्षेत्रबाट उनीहरुलाई पक्राउ गर्नुका साथै बालिकालाई उद्दार गरेको डिएपसपी निशान्त श्रीवास्तवले बताए । अपहरणमा संलग्न आरोपित परिवार बेंसीसहरमा सिरक–डसना बनाउने काम गर्दै आएका थिए ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully