गिद्ध संरक्षणका लागि आराम स्थल

माघ ९, २०८१

सम्झना रसाइली

Resting ground for vulture conservation

तनहुँ — तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले गिद्ध संरक्षणका लागि आराम स्थल निर्माण गरेको छ । प्राकृतिक कुचिकारको रूपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आराम स्थल’ निर्माण गरिएको हो ।

वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आराम स्थल निर्माण गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताए । 

‘आयोजनाले उक्त केन्द्रको परिसरमा स्थानीय स्रोत र साधनको प्रयोग गरी पाँचवटा टेलिस्कोपिक पोल जडान गरेको छ,’ उनले भने, ‘हरेक पोलमा गिद्धलाई बस्नका लागि फलामको आर्म राखिएको छ । फलामको आर्ममा कारण गिद्धलाई कुनै नकारात्मक असर पर्न नदिई सुरक्षित बनाउन आर्मलाई काठले ढाकिएको छ ।’

उनका अनुसार पोलको टुप्पोमा काठको ढकनी लगाइएको छ । जसमा गिद्ध सुरक्षित रूपमा बस्न सक्नेछन् । आहाराका लागि आउने र खाएपछि गिद्धलाई आराम गर्नका उक्त पोलहरू जडान गरिएका हुन् ।

व्यासको सक्रियतामा दमौली बजारभन्दा करिब ६ किलोमिटर दूरीमा रहेको मादी नदी किनारमा गौ संरक्षण केन्द्र सञ्चालित छ । करिब दुई सय रोपनी जग्गामा सञ्चालित केन्द्रमा नगरपालिका क्षेत्रमा बेवारिसे अवस्थामा रहेका र बूढा भएका गाईगोरु ल्याउने गरिएको छ । गाईगोरु मरेमा त्यहीँ रहेको खाल्डोमा राखिने भएकाले आहाराका लागि गिद्ध त्यहाँ आउने गरेका छन् । सिकारी चरा समूहअन्तर्गत ठूला मांसहारी पन्छी गिद्धले आफैं सिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खान्छन् ।Resting ground for vulture conservation

गिद्धलाई यसअघि संरक्षण केन्द्रमा असुरक्षित रूपमा आहारा लिनुपर्ने बाध्यता थियो । उक्त स्थानबाट ३३ केभी प्रसारण लाइन गएका कारण आहाराका लागि आउने र आहारापछि उड्ने गिद्ध उक्त लाइनमा ठोकिएर मर्ने गरेका थिए ।

प्रसारण लाइनमा ठोकिएर गिद्धलाई मर्न नदिन आयोजनाले मरेका गाईवस्तु फाल्ने खाल्डोको स्थान परिवर्तन गरी त्यस नजिक पोल जडान गरी आराम स्थल निर्माण गरेको हो । यसबाट गिद्ध संरक्षण गर्न जनचेतना अभिवृद्धि र वासस्थान संरक्षण भई गिद्ध सुरक्षित क्षेत्रको रूपमा विकास गर्न सहयोग पुग्ने आयोजनाले जनाएको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully