बेंसीसहरका सडकमा गुणस्तर नाप्ने मेसिन

माघ ५, २०८१

आश गुरुङ

Road quality measuring machine in Bensi Sahar

लमजुङ — बेंसीसहर नगरपालिकाले सडकलगायत विकास निर्माणको गुणस्तर नाप्न कोर कटिङ मेसिन प्रयोग गर्न सुरु गरेको छ ।

विकास निर्माणमा हुने कच्च पदार्थको मात्रा पत्ता लगाएर यसको गुणस्तर नाप्न नगरपालिकाले निर्माण सकिएका सडकको ढलान, कालोपत्र तथा नालीमा कोर कटिङ मेसिन प्रयोग गर्न थालेको हो ।

बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले ढलान तथा कालोपत्र गरिएका सडक स्टिमेट अनुसार भए/नभएको र गुणस्तर मापन गर्न कोर कटिङ परीक्षण सुरु गरिएको बताए । ‘निर्माण सकिएका आयोजनाको भुक्तानी दिने क्रममा हामीले मेसिन प्रयोग गरेर स्टिमेट अनुसार भए/नभएको जाँच गर्न थालेका छौं । यसो गर्दा निर्माण कम्पनी, व्यवसायी र उपभोक्ता समितिले कच्चा पदार्थ प्रयोगमा तलमाथि गर्न पाउँदैन,’ उनले भने ।

नगरपालिका उपप्रमुख पदमा गुरुङले बेंसीसहर नगरपालिका–३, ८, १० लगायत वडामा निर्माण सकिएको सडकको कोर कटिङ मेसिनबाट परीक्षण कार्य गरिएको बताइन् । ‘योजनाको काम सकिएपछि हामीले अनुगमन गर्ने गरेका छौं । अनुगनको क्रममा इन्जिनियरहरूले मेसिनको प्रयोग गरेर गुणस्तर नाप्ने गरेका छौं । गुणस्तर कायम नभए गुणस्तर कायम गर्न भनेका छौं,’ उनले भनिन् ।

बेंसीसहर नगरपालिकाले कोर कटिङ मेसिन करिब साढे ३ लाख रुपैयाँ खर्च गरेर कोर कटिङ मेसिन ल्याएको हो । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले कोर कटिङ मेसिन प्रयोग गरेर परीक्षण गर्न थालेपछि सडक निर्माणका कार्यमा स्टिमेट अनुसार काम हुने विश्वास व्यक्त गरे ।

नगरपालिकाका इन्जिनियर प्रकाश पौडेलका अनुसार ढलान तथा कालोपत्र सडकको विटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन (खँदिलोपना), निर्माण सामग्रीको मिश्रण कोर कटिङ मेसिनबाट परीक्षण गर्न सकिने बताए । 

उनका अनुसार मेसिनमा ४ इन्चको गोलो सिलिन्डर फिट भएको हुन्छ । जेनेरेटरले पावर दिएपछि सिलिन्डर ढलान वा कालोपत्र भित्र छिर्छ । तलसम्म पुगेर त्यसले निकालेको स्याम्पललाई विभिन्न तवरले नापेर, हेरेर गुणस्तर पत्ता लगाइन्छ ।

पूर्वाधार विकास कार्यालय लमजुङका ल्याब टेक्निसियन सुदीप पाण्डेले नगरपालिकाले गरेको यस कार्यका लागि प्राविधिकहरूलाई फिल्डमै गएर परीक्षण विधिबारे जानकारी गराइएको बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully