मानवसेवा आश्रम लमजुङको भवन निर्माणका लागि एनसेलको १० लाख

माघ ५, २०८१

आश गुरुङ

10 lakhs from Ncell for construction of Manavsewa Ashram Lamjung building

लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका-९ पाखाथोकमा निर्माणाधीन मानवसेवा आश्रम लमजुङको भवन निर्माणका लागि एनसेलले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

हाल सन्चालित बेंसीसहर-७ हाइस्कुल चोकस्थित मानवसेवा आश्रममा शनिबार आयोजित एक कार्यक्रमा एनसेलले १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ र एनसेलका संस्थागत र नियमितता अधिकारी डिल्लीराम श्रेष्ठले आश्रम भवन निर्माणका अध्यक्ष मोहनबहादुर थापालाई १० लाख बराबरको चेक हस्तान्तरण गरे । 

सञ्चारमन्त्री गुरुङले मानवसेवा नै सबैभन्दा ठुलो सेवा र धर्म रहेको बताए । 'मानवको लागि हामी सबै बाच्ने प्रयत्न गरौँ' उनले भने । उनले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हुने बेलामा लमजुङ, कास्की, गोरखालगायत ४ ठाउँमा पनि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । 

एनसेलका संस्थागत र नियमितता अधिकारी श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले शिक्षा,स्वास्थ्य र वातावरण लगायतका क्षेत्रमा पनि सहयोग गर्दै आएको उल्लेख गरे । 

आश्रमकी संयोजक अनिता अधिकारीले १० लाख रुपैयाँ बराबर एक कोठा सहयोगदाताको नाममा लेखिने अभियान रहेको र एनसेलको नाममा पनि एउटा कोठा निर्माण गरिने बताइन् । आश्रममा हाल २४ जना रहेका छन् । आश्रमको हालसम्म ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको आश्रमले जनाएको छ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully