कास्की — दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले पोखराको फेवातालमा हावाहुरी र पानीको गति मापन गर्ने उपकरण जडान गरेको छ । फेवातालस्थित एपीएफको रेस्क्यु वाच टावरमा ‘विन्ड सेन्सर डिभाइस’ जडान गरिएको हो ।
फेवातालमा हुने (हावाहुरी र पानीका कारण डुंगा पल्टिने) दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले १० लाखको लागतमा यन्त्र जडान गरिएको सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति अरुणकुमार शर्माले जानकारी दिए ।
गृह र अर्थ मन्त्रालयसँग स्वीकृत लिई अन्तर्रार्ष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड)को सहयोगमा हावाहुरी र पानीको गति मापन गर्ने यन्त्र जडान गरिएको एसपी शर्माले बताए । ‘अहिले टेस्टिङ भइरहेको छ,’ एसपी शर्माले भने, ‘अब दश दिनपछि पूर्णरुपमा संचालनमा आउँछ ।’
यस यन्त्रले फेवाताल वरपरको हावाहुरी र पानीको गतिविधिको सूचना तीन घण्टाअघि नै दिन्छ । एपीएफको रेस्क्यु वाच टावरमा यसको स्क्रीन राखिएको छ भने कालिका गणभित्र पनि अर्को स्क्रीन जडान गरिएको छ । दुई ठाउँबाट नै सूचना लिन सकिने सशस्त्र प्रहरीले जनाएको छ ।
‘हावाहुरी आउँदै छ भन्ने भएपछि बोटिङ चलाउन रोक लगाइन्छ,’ उनले थपे, ‘फेवातालमा हावाहुरीका कारण बोट पल्टिएका घटना प्रशस्त छन् । धेरै ज्यान गुमाएका छन् भने कयौँ संख्यामा घाइते भएका छन् ।’ उनले घटनापछि उद्दार गर्नुभन्दा अघि नै सूचना दिनु उचित रहने बताए ।
सराङकोट साइडबाट आउने हावालाई बढी जोखिमकोरुपमा लिइन्छ । यस उपकरणले सशस्त्र प्रहरी तथा नेपालको विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि सूचनाको दृष्टिकोणबाट कोसेढुङ्गा सावित हुने गणपति शर्माले बताए । फेवातालमा २०७१ मा सशस्त्र प्रहरीको उद्दार टावर जडान गरिएको थियो । विहान ६ बजेदेखि बेलुका (साँझ)सम्म यहाँ दैनिक १० जना शसस्त्र प्रहरी (तालिम प्राप्त) खटिने प्रहरी गणले जनाएको छ ।
आवश्यकता अनुसार संख्या थपघट हुने बताइएको छ । यसैगरी, गण्डकी प्रदेश सरकारको ५० लाख लागतमा बेगनास तालमा पनि ‘एपीएफ उद्दार टावर’ बनाइने भएको छ । यसका लागि पूर्वाधार विकास कार्यालय कास्कीले टेण्डर निकालिसकेको एसपी अरुणकुमार शर्माले बताए ।
उनका अनुसार कालिका गणभित्र पोखरा महानगरको ५० लाख आर्थिक सहयोगमा ‘एपीएफ रेस्क्यू सेन्टर’ बनाइने भएको छ । यसका लागि पनि महानगरले टेण्डर आह्रवान गरिसकेको प्रहरीले जनाएको छ । रेस्क्यू सेन्टर संचालनमा आएपछि कास्की जिल्लाभित्र हुने घटनाबारे जानकारी लिन सकिन्छ ।
नौ वर्षदेखि फेवातालमा डुंगा चलाउँदै आएकी (डुंगा चालक) विमला गुरुङले एक्कासी आउने हावाहुरी र पानीका कारण डुंगा जोखिममा रहेको बताइन् । ‘वेगमा हावा आउँदा डुंगा पल्टिने जोखिम हुन्छ,’ गुरुङ भन्छिन्, ‘हावाहुरी आउँदै छ है भन्ने सूचना पहिले नै थाहा पायौँ भने जोखिम हुनबाट जोगिन्छौ ।’ उनले यात्रुसँगै डुंगा चालक पनि सुरक्षित रहने बताइन् ।
२०८० फागुनदेखि यता फेवातालमा ४७ जनाको उद्दार गरिएको तथ्यांक एपीएफ कालिका गणको छ । एपीएफका अनुसार ४ जनाको मृत्यु भएपछि उद्दार गरिएको थियो भने ८३ जनाको जीवित्तै उद्दार गरिएको थियो । फेवातालमा एपीएफको उद्दार टावर बनेपछि २०७१ पुस १५ गतेदेखि हालसम्म ४६७ जना जीवित र ४ मृत्तक गरी ४७१ जनाको उद्दार गरेको जनाएको छ ।
