नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित बिनयी खोला पुल भाँचिएको ४८ घण्टापछि त्यहाँ निर्माण गरिएको डाइभर्सन सडकबाट दुईतर्फी यातायात संचालन भएको छ ।
इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार डाइभर्सन सडक निर्माण गरेर आइतबार राति सवा १० बजेबाट दुईतर्फी यातायात संचालन गरिएको हो । दुम्कीबास बजारबाट ४ सय मिटर पूर्वमा रहेको बिनयी खोला पुलमा अत्यधिक मालसामान बोकेको ट्रक आउँदा पुल भाँचिएर गत शुक्रबारबाट आवागमनमा बाधा पुगेको हो ।
बिनयी खोलाको पुल नजिकैबाट उत्तरतर्फ डाइभर्सन सडक निर्माण गरेर पुलको पूर्वतर्फ ५ सय मिटरमा महेन्द्र राजमार्गमै निस्कन मिल्ने गरी डाइभर्सन सडक (अस्थायी सडक) निर्माण गरिएको छ ।
