उपाध्यक्षसहित कांग्रेस-एमाले जनप्रतिनिधिद्वारा गाउँसभा बहिष्कार
गोरखा — गण्डकी गाउँपालिकाको केन्द्र वडा नम्बर ६ स्थित वनटारमा राख्ने गाउँसभाले निर्णय गरेको छ । शुक्रबार भएको १७ औं गाउँसभामा पालिकाको केन्द्रबारे मतदान भएको थियो । मतदानमा गाउँपालिकाको प्रशासकीय भवन वनटारमा राख्ने निर्णयको पक्षमा दुई तिहाई मत परेको गाउँपालिका अध्यक्ष दिपक तिमल्सिनाले बताए ।
‘कायम रहेको सभा सदस्य संख्यामध्ये दुई तिहाई मत पक्षमा आयो, विपक्षमा शून्य मत प्राप्त भयो,’ उनले भने ।
दुई तिहाई मतले प्रशासकीय भवन वनटारमा कायम गर्ने पारित गरिएको अध्यक्ष तिमल्सिनाले बताए । शुक्रबारको गाउँसभा कांग्रेस एमालेबाट निर्वाचित जनप्रतिनिधिले भने बहिष्कार गरेका थिए ।
अघिल्लो कार्यकालदेखि नै गण्डकी गाउँपालिकाको केन्द्रबारे विवाद हुँदै आएको छ । साविकको गाविस भवन (ओखलडाँडा)बाट प्रवाह हुँदै आएको सेवा २०७९ मा निर्वाचित भएलगत्तै वनटारमा सारेर सेवा केन्द्रमार्फत सेवा प्रवाह हुँदै आएको थियो । ‘पहिलो कार्यकालमा पनि ओखलडाँडामा केन्द्र राख्ने नियमसम्मत थिएन,’ अध्यक्ष तिमल्सिनाले भने,‘केन्द्र सार्ने निर्वाचनको एजेण्डा पनि थियो, फुजेल, घ्याल्चोक, दर्वुङ लगायतका क्षेत्रका बासिन्दालाई पायक पर्ने गरी वनटारमा केन्द्र बनाएका हौं, यहाँ केन्द्र राख्न धेरै साथीहरुले समर्थन जनाउनुभएको छ ।’
शुक्रबारको गाउँसभामा ४२ मध्ये २८ सदस्य उपस्थित थिए । उपाध्यक्षसहित कांग्रेस, एमालेबाट निर्वाचित १४ जनप्रतिनिधिले भने सभा बहिष्कार गरे । गाउँपालिका केन्द्रबारे एजेण्डा नल्याउन पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएपछि गाउँसभा बहिष्कार गरेको गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले बताइन् । ‘सर्वोच्च अदालतमा विचाराधिन मुद्दा छ, मुद्दाको फैसला मान्न तयार छौं तर विचाराधिन विषयलाई एजेण्डा नबनाऔं भनेका थियौं, सुनुवाइ भएन,’ उनले भनिन् ।
प्रशासकीय भवनको सन्दर्भमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले फैसला नहुँदासम्म छलफल गर्नुको औचित्य नरहेको भन्दै कांग्रेस, एमालेले बिहीबार नै विज्ञप्ति जारी गरेका थिए ।
