गोरखा — पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । गोरखा नगरपालिका–६ स्थित ठूलोआँगन र गोरखा संग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित विविध कार्यक्रम गरी शनिबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो ।
इतिहासलाई जीवन्त राख्न तथा सम्मानका लागि पृथ्वीनारायण शाहको योगदान भुल्न नसकिने कार्यक्रमका सहभागीले बताए । ‘पृथ्वी नारायण शाहको दिव्योपदेश अहिलेको सन्दर्भमा पनि निकै सान्दर्भिक छ,’ जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाले भने, ‘एकीकरण अभियानमै पूरै समय बिताएका पृथ्वीनारायण शाहको भूमिका नेपालीले कहिल्यै भुल्न सक्दैनन् ।’
पृथ्वीनारायण शाहको भेषमा सजिएका गोरखा नगरपालिका–६ रानीपाखेरीका ओमबहादुर श्रेष्ठ धेरैको आकर्षकको केन्द्र बनेका थिए । संग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिक सामुन्ने श्रेष्ठसँग तस्बिर लिनेको घुइँचो लागेको थियो । विगतका वर्षदेखि नै श्रेष्ठ पृथ्वीनारायण शाहको भेषमा सजिएर पृथ्वी जयन्तीको अवसरमा हुने कार्यक्रममा सहभागी बन्ने गरेका छन् । गोरखाबाट पृथ्वीनारायण शाहले सुरु गरेको राज्य एकीकरणबारे कार्यक्रमका सहभागीले चर्चा गरे ।
पृथ्वी जयन्तीकै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण लगायतको कार्यक्रम गरेको छ । राप्रपा केन्द्रीय सदस्य रामराजा कोइराला लगायतले शाहको शालिकमा माल्यार्पण गरेका थिए ।
पृथ्वीनारायण शाहको राज्य एकीकरणबारे चर्चा गर्दै दिवस मनाइएको राप्रपाका सचिव रमेशरमण खनालले बताए । ‘पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्यौं, उहाँको दिव्योपदेशलाई व्यवहारमा उतार्न सक्यौं सकेनौं जस्ता विषय मुख्य रह्यो,’ उनले भने ।
