तनहुँ — जिल्लाको बन्दीपुर गाउँपालिका-२ को कुकुर्दीमा माघे संक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता हुने भएको छ । नारायण गोपाल युवा क्लबले कृषकहरूलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले विगत ३ वर्षदेखि गोरु जुधाई प्रतियोगिता आयोजना गर्दै आएको छ ।
यस वर्षको प्रतियोगितामा तनहुँ जिल्लाभर इच्छुक कृषकलाई सहभागी गराउने क्लबका अध्यक्ष उज्ज्वल गुरुङले बताए । उनले भने, ‘हालसम्म १६ जना भन्दा बढी कृषकहरू प्रतियोगितामा भाग लिने गरी सम्पर्कमा आउनुभएको छ ।’
गोरु जुधाई प्रतियोगितामा प्रथम, द्वितीय हुनेलाई क्रमशः १५ हजार, ७ हजार रुपैयाँ नगद पुरस्कार रहेको उनले बताए । उनले भने, ‘प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क ५ सय रुपैयाँ लाग्ने छ ।’
यस्तै सोही अवसरमा गाउँस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । पुरुष तथा महिला भलिबल प्रतियोगिता पुस २५ गतेबाट सुरु भइसकेको छ ।
पुरुष भलिबलतर्फ प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद सहित मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी महिला भलिबलतर्फ प्रथम हुनेलाई ७ हजार नगदसहित मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
