तनहुँ — ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शैक्षिकस्तर सुधारका लागि भन्दै तनहुँको आँबुखैरेनी गाउँपालिकाले छात्रावास सञ्चालनमा ल्याएको छ । यहाँको वडा नं. ५ र ६ को ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएपछि एकीकृत ढंगले पठनपाठन सञ्चालन गर्ने उद्देश्यले गाउँपालिकाले छात्रावास सञ्चालनमा ल्याएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयमा छात्रावास भवन तयार गरी ५० जना क्षमताको छात्रावास सञ्चालन ल्याइएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत प्राप्त ३६ लाख रुपैयाँ, अपुरो भवन निर्माणका लागि गाउँपालिकाबाट प्राप्त २५ लाख रुपैयाँ र सामाजिक विकास कार्यालयबाट प्राप्त ५ लाख रुपैयाँबाट भवन निर्माण तथा छात्रावासका लागि आवश्यक पूर्वाधार तयार गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमान गुरुङले बताए ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले छात्राबास भवनको उद्घाटन गर्दै न्यून विद्यार्थी संख्या भएका विद्यालयका विद्यार्थीलाई समायोजन गरी पठनपाठनमा सहज बनाउने उद्देश्यले छात्राबास संचालनमा ल्याएको बताए । 
उनले भने, ‘हिउँद सुरु भएपछि यस क्षेत्रका विद्यार्थीहरूलाई विद्यालयबाट ओहोरदोहोर गर्न टाढा भएकाले विद्यालयवरपर डेरा लिएर बसेका रहेछन् । व्यवस्थापकीय र आर्थिक हिसाबले अभिभावकलाई मार परेको र अभिभावकबाट टाढा, कसैको नियन्त्रणमा नहुँदा विद्यार्थीको पढाइमा सुधार नभएको हुँदा शैक्षिक गुणस्तर वृद्धि र बसाइँ व्यवस्थापनका लागि विद्यालयमै निःशुल्क छात्राबास व्यवस्थापन गरिएको हो ।’
वडा नम्बर ५ र ६ मा छरिएको बस्ती छ । विद्यार्थीलाई विद्यालय आउजाउ गर्न डेढदेखि २ घण्टा लाग्छ । यसकारण उनीहरू विद्यालयवरपर महिनाको ५ देखि १० हजार रुपैयाँ खर्चिएर बस्न बाध्य थिए ।
यस्तै ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शैक्षिकस्तर सुधारका लागि छात्रावास कार्यक्रम महत्त्वपूर्ण पहल भएको र छात्रावासलाई व्यवस्थित रूपमा सञ्चालनमा गाउँपालिकाले आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउँछ र यसका लागि सबै पक्षको सकारात्मक पहल र सहकार्यको आवश्यकता रहेको अध्यक्ष चुमानले बताए । उनले भने, ‘छात्रावासमा शिक्षक पनि सँगै बस्ने हुँदा बिहान बेलुकाको पढाइमा पनि सहयोग पुग्ने आशा लिएका छौं ।’
विद्यालयमा छात्राबास कार्यक्रमको सुरुआतसँगै कक्षा ८, ९ र १० का ४५ जना विद्यार्थीहरू छात्राबासमा बसेर अध्ययन गर्न थालेका छन् । कार्यक्रमको मुख्य उद्देश्य दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शिक्षा प्राप्तिमा सहजता पुर्याउने र सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनु रहेको अध्यक्ष चुमानले बताए । उनले भने, ‘गाउँसभाबाट छात्रावास व्यवस्थापनमा १० लाख रुपैयाँ विनियोजन भएको छ । चैतसम्मको अवस्था हेरेर थप व्यवस्थापन गर्ने छौं ।’
दुई घण्टाभन्दा बढी समय खर्चिएर विद्यालय आइपुग्ने आँबुखैरेनी गाउँपालिकाका छिम्केश्वरी, हिलेखर्क, छापस्वाँरा, सिनारखोला, गुल्मुङ, घटोडाँडा, ढिन्को लगायत गाउँका विद्यार्थी छात्रावासमा बसेर पढ्न थालेको विद्यालयका प्रधानाध्यापक गुरुङले जानकारी गराए ।
नेपालमा सार्वजनिक विद्यालयमा विद्यार्थीहरूको संख्या घट्दो क्रममा छ । विशेष गरी दुर्गम क्षेत्रका विद्यालयमा यो समस्या अझ गम्भीर बनिरहेको अवस्थामा सार्वजनिक शिक्षाको गुणस्तरमा सुधार ल्याउन र अभिभावकहरूको आकर्षण बढाउन गाउँपालिकाले विभिन्न योजना अघि बढाएको गाउँपालिका अध्यक्ष चुमानले बताए ।
गाउँपालिकाले सार्वजनिक शिक्षा क्षेत्रको सुधारका लागि करिब ३० जना स्वयंसेवक शिक्षकको व्यवस्था गरी विद्यालयका रिक्त दरबन्दी पूरा गर्दै आएको छ । पढाइमा अभिभावकको सहभागिता कार्यक्रम अन्तर्गत गाउँपालिकाले जनप्रतिनिधिहरूका छोराछोरीलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा अध्ययन गराउने व्यवस्था गरेको छ भने शिक्षासँगै सीप कार्यक्रम पनि सञ्चालन गरेको छ ।
