लमजुङमा ३ महिनामा १ सय १२ वटा बन्दुक बरामद

पुस २४, २०८१

आश गुरुङ

112 guns recovered in Lamjung in 3 months

लमजुङ — जिल्ला प्रहरी कार्यालय लमजुङले ३ महिनाको अवधिमा १ सय १२ वटा बन्दुक संकलन गरेको छ । जिल्ला प्रशासन कार्यालयले ५ वर्षसम्म नवीकरण नगरेका हतियार स्वतः अवैध हुने भन्दै जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

सोही सूचनाबमोजिम गत असोज १६ गतेदेखि पुस २३ सम्म जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायत मातहातका कार्यालयमार्फत संकलन भएको हतियार बुधबार सार्वजनिक गरेको छ ।

प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सबैभन्दा बढी एकनाले भरुवा बन्दुक १ सय ७ वटा, १२ बोर एकनाले २, एकनाले ब्रिज लोडिङ राइफल, १२ बोर दुइनाले र २२ बोर हर्नेट बन्दुक १–१ वटा संकलन गरेको जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले प्रशासन कार्यालयबाट बरामद गर्नुपर्ने हतियारको संख्या ७ सय ६४ वटा प्राप्त भएकोमा १ सय १२ वटा प्राप्त भएको बताए । उनका अनुसार ५ सय ४५ वटाको विवरण प्राप्त भएकोमा ४ सय ७० वटाकोमात्रै लगत प्राप्त भएको उनले बताए । उनका अनुसार विवरण प्राप्त हुन बाँकी २ सय १९ वटा हतियारको खोजी भइरहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा १ हजार ५ सय २७ जनाले विभिन्न समयमा हतियार लिएको जनाएको छ । तीमध्ये ३ सय जना हाराहारीले मात्रै नवीकरण गरेका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताए । उनका अनुसार ५ वर्षसम्म हतियार नवीकरण नगरिए स्वतः अवैध हुने भएकाले अबैध हतियार प्रहरीमा बुझाउन उनले अनुरोध गरे ।

‘हामीले १ सय १२ वटा हतियार अभियानका क्रममा संकलन गरेका छौं । प्रहरीले खोजबिनका क्रममा भेटिएमा अवैध हतियार राख्नेलाई कानुनबमोजिम कारबाही हुन्छ,’ उनले भने । उनले यसअघि निर्वाचनका समयमा पनि अवैध रूपमा रहेका हतियारहरु संकलन गरिएका थिए । प्रशासनले विभिन्न व्यक्ति तथा संस्थाहरूले हातहतियार राख्नको लागि अनुमति लिने तर, नवीकरण गरेको अभिलेख नभेटिएकाले तोकिएको समयभित्र नवीकरण गर्न अनुरोध गर्दै आएको छ ।

२ जनालाई मुद्दा

प्रहरीले पछिल्लो समय इजाजतबिना हतियार राखेको आभियोगमा २ जनाविरुद्ध मुद्दा चलाएको छ । क्व्होलासोथार गाउँपालिका ९, छापाका ५० वर्षिय मंगले परियार र मर्स्याङ्दी गाउँपालिका ३, टारीकुनाका २४ वर्षिय वर्तबहादुर तामाङविरुद्ध हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाएको हो ।

भिरालो पाखोमा घरेलु हतियार भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा फेला परेपछि गत कात्तिक २५ गते पक्राउ परेका परियार र घरको दाउरा राख्न बनाइएको टारमा लुकाएर राखेको अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेपछि असोज २९ गते पक्राउ गरी तामाङविरुद्ध प्रहरीले मुद्दा चलाएको हो ।

मुलुकी अपराध संहिता-२०७४ को हातहातियार खरखजनासम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरी दुवैजनालाई जिल्ला अदालतमा पेस गरेकोमा अदालतले जनही १ लाख २५ हजार रुपैयाँका दरले धरौटी राखेर तारेखमा रिहा गरेको छ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully