गोरखा — आरुघाट गाउँपालिका–१ मान्वुस्थित श्याम्चेतका आगलागी प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । तीन परिवारलाई १५/१५ हजार नगद तथा खाद्यान्न, लत्ताकपडा, भाडावर्तन लगायतका सामग्री वितरण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय गोरखाले विपद व्यवस्थापन कोषबाट प्रतिपरिवार १५/१५ हजार नगद राहत रकम उपलब्ध गराएको छ । आगलागीबाट पीडित परिवारलाई नगदसहित लत्ताकपडा लगायतका सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलेले बताए ।
आरुघाट गाउँपालिकाले ७ बोरा चामल, १ बोरा चिउरा, नुन, तेल, तरकारी लगायतका खाद्यान्न, तीन थान त्रिपाल वितरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए । सशस्त्र प्रहरीले १५/१५ थान ब्ल्यांकेट र सिरानी, ६ वटा बाल्टी जग, ६ वटा टावेल, २१/२१ वटा स्टिल कचौरा, थाल, ग्लास, चम्चा लगायतका सामग्री उपलब्ध गराएको छ ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले ८ थान त्रिपाल १५ थान कम्मल, भाडाकुटा सेट, ४/४ थान बाल्टी जग, लत्ताकपडा, मेट्रिस उपलब्ध गराएको छ ।
शनिबार साँझ आगलागीका कारण श्याम्चेतको पूर्णबहादुर लामा, बुद्धिमान लामा र आइते लामाको घर जलेर नष्ट भएको थियो । पुर्णबहादुरको घरमा खाना पकाउने चुल्होमा आगो बाल्ने क्रममा नजिकै रहेको मकैको खोस्टामा अचानक सल्किँदा घटना भएको प्रहरीले जनाएको छ ।
