गोरखा — बारपाक सुलिकोट गाउँपालिका–१ की १७ वर्षीय सुचिना घले हत्या आरोपमा पक्राउ परेका मनशम्जेर गुरुङलाई पुर्पक्षका लागि कारागार पठाइएको छ । गत मंसिर १५ गते घाँस काट्न जंगल गएकी सुचिनाको शव बारपाकस्थित मैखर्क जंगलमा मंसिर १८ गते पुरिएको अवस्थामा भेटिएको थियो ।
सुचिनाको हत्या आरोपमा बारपाकका ४३ वर्षीय मनशम्जेरलाई प्रहरीले मंसिर २४ गते पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा धारिलो हतियार हँसियाले टाउको लगायत शरीरका विभिन्न भागमा प्रहार गरी मारेर खाल्डोमा गाडेको खुल्न आएको प्रहरीले जनाएको छ ।
आइतबार आरोपित गुरुङलाई प्रहरीले गोरखा जिल्ला अदालतमा पेस गरेको थियो । अदालतको थुनछेक आदेशले आरोपित गुरुङलाई पुर्पक्षका लागि कारागार थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।
