लमजुङको दोर्दीमा सिसा पेल्ने मेसिन सञ्चालनमा

पुस २०, २०८१

आश गुरुङ

Lead grinding machine in operation at Dordi in Lamjung

लमजुङ — लमजुङको दोर्दी गाउँपालिकाले फोहर र जोखिमयुक्त अवस्थाका सिसालाई पेल्न ग्लास क्रसर मेसिन सञ्चालनमा ल्याएको छ ।

छरिएर रहेका सिसाका बोतलहरूबाट हुने जोखिम कम गर्न र सिसाको उचित व्यवस्थापन गर्न गाउँपालिकाले सिसा पेल्ने मेसिन सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।

उनका अनुसार गाउँपालिकाले बजेट व्यवस्थापन गरेर ग्लास क्रसर मेसिन सञ्चालनमा ल्याएको हो । दोर्दी गाउँपालिका ४ नौथर सेराको गाउँपालिका खेलमैदान नजिकै निर्माण गरिएको साझा सुविधा केन्द्रमा मेसिन राखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेका अनुसार गाउँपालिकाले निर्माण गरेको साझा सुविधा केन्द्र भवनमा मेसिन राखिएको छ । मेसिन हब नेपालमार्फत खरिद गरेर ल्याएको उक्त मेसिन सुरुका दिनमा महिनामा कम्तीमा ३–४ दिन सञ्चालनमा ल्याइने बताए । आवश्यकता अनुसार ज्यालादारीमा कामदार राखेर उक्त मेसिन सञ्चालन गरिने उनले बताए ।

‘सुरुका दिनमा गाउँपालिकाले ट्याक्टर भाडामा लिएर सिसाका बोतल तथा टुक्राहरू सङ्कलन गरिनेछ । स्थानीयलाई सिसा व्यवस्थापन गर्न भनिएको छ । स्थानीयले पनि सङ्कलन केन्द्रमा ल्याउनेछन्’ उनले भने । सिसाको धुलो सिसा कम्पनीहरूले पुनः प्रयोगका लागि लाने उनले बताए ।

‘हामीले सिसाजन्य सामग्री सकेसम्म प्रयोग नगर्न भनेका छौँ । प्रयोग गरिएका सिसाहरूको पुनः प्रयोग गाउँघरमै गर्न र पुनः प्रयोगमा आउन नसक्ने सिसाजन्य वस्तुलाई जोखिम नहुने गरी राख्न भनेका छौँ’ उनले भने, ‘कसैगरी फाल्नुपर्ने सिसाहरूलाई सङ्कलन गरेर धुलो बनाउने हो । सिसाजन्य फोहरको न्यूनीकरण, जोखिम न्यूनीकरण, वातावरणलाई सफा र स्वच्छ बनाउने हाम्रो प्रयास हो’ उनले भने ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully