गोरखा — अपाङ्गता भएकाहरूलाई तालिम उपलब्ध गराउन राखिएको पञ्चेबाजाको सेटसहितको सामग्री चोरी भएको हो । गोरखा नगरपालिका–५, स्थित गोरखा नेत्रहीन संघको तालिम तथा पुन:स्थापना केन्द्रको भवन फोरेर सामग्री चोरी भएको छ ।
अपाङ्गता भएकाहरूलाई तालिम उपलब्ध गराउन राखिएको पञ्चेबाजाको सेट नै चोरी भएको नेत्रहीन संघका कार्यक्रम संयोजक पवनकुमार बस्नेतले बताए ।
चार थान नरसिंहा, दुई थान दमाहा, दुई थान सहनाई, एक थान टेम्पो, एक जोर झ्याली, पानी तान्ने मोटरलगायतका सामान चोरी भएको हो । भवनभित्र रहेका ६ वटा दराजको ताल्चा पनि फोरिएको उनले बताए । ‘दोस्रो तलामा चढेर झ्याल फोरेर सामग्री चोरी भएको छ,’ उनले भने ‘चोरी भएका सामग्री तालिम उपलब्ध गराउन राखिएको थियो ।’
भवन भत्रका सामग्री एक साताअघि नै चोरी भएको अनुमान गरिएको छ । ‘भवननजिकैको तरकारी बारीमा आज बिहान पानी लगाउन जाादा झ्याल खुल्ला देखो, हेर्दै जाादा पानी तान्न प्रयोग भएको मोटरको पाइप काटिएको रहेछ, भित्रका सामग्री पनि नदेखेपछि प्रहरीलाई खबर गरेका थियाौ,’ उनले भने ।
अपाङ्गता भएकालाई तालिम उपलब्ध गराउन गोरखा नगरपालिकाले २०७६ सालमा पञ्चेबाजा उपलब्ध गराएको थियो ।
