गलकोटमा राजमार्ग लक्षित सहरी क्लिनिक

पुस १६, २०८१

प्रकाश बराल

Highway Targeted Urban Clinic at Galkot

बागलुङ — गलकोट नगरपालिकाले मध्यपहाडी लोकमार्ग लक्षित सहरी क्लिनिक संचालनमा ल्याएको छ । राजमार्गमा हुने सडक दुर्घटनाका घाइतेको प्राथमिक उपचार गरेर रिफर गर्ने उद्देश्यले उक्त क्लिनिक संचालनमा ल्याएको नगर प्रमुख भरत शर्मा गैरेले बताए ।

मध्यपहाडी लोकमार्गको झण्डै ४० किमि खण्ड गलकोट नगरपालिकामा पर्छ । उक्त क्षेत्रमा हुने दुर्घटना वा अन्य समस्याले आउने यात्रुका लागि उपचार गराउने तथा स्थानीय नागरिकको पनि सामान्य स्वास्थ्य उपचार गर्ने गरी सहरी क्लिनिक खोलिएको हो । गलकोट नगरपालिका–११ रिघाको मनेवापाटामा उक्त क्लिनिक संचालनमा आइसकेको छ ।

गत असारमा नगरपालिकाले नीति र बजेटमा नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेको थियो । यो क्लिनिकमा घाउचोटका बिरामीलाई आवश्यक पर्ने औषधि तथा सामग्री राखिएको छ । तत्काल बिरामी ल्याउन स्ट्रेचरसमेत छ । एम्बुलेन्स चाहिँदा नगर अस्पतालसहित हटिया, काँडेवास, मल्मलगायतका वडामा रहेका जुनसुकै पनि प्रयोग गर्न सकिने व्यवस्थापन पनि भएको हो ।

साथै क्लिनिकले महिलाको गर्भ परीक्षणको काम पनि थालेको छ । ‘घटना भएमा घाइतेको उपचारमा प्राथमिकता दिने, नत्र सामान्य स्वास्थ्य सेवा निरन्तर गर्ने गरेका छौं,’ क्लिनिककी अहेव अनिषा थापाले भनिन्, ‘वडा कार्यालय टाढा भएकाले स्थानीय नागरिकको स्वास्थ्य सेवा पनि यहाँबाट संचालित छ ।’ साथै पोषणको कार्यक्रम पनि यहाँबाट संचालन हुने गरेको हो ।

सहरी क्लिनिकमा नियमितजसो ओपीडीका बिरामी आउने गरेका छन् । नगरपालिकाले यहाँ पहिलो चरणमा एक जना अनमि र एक अहेवको दरबन्दी दिएर काम थालेको हो । ‘चोटपटक लागेका बिरामीलाई लक्षित भए पनि अन्य समस्याको पनि उपचार गरेका छौं,’ थापाले भनिन्, ‘नियमित गर्भ परीक्षणका लागि आउनेलाई पनि हामीले सेवा दिएका छौं ।’ यहाँ परीक्षण गरिएको गर्भको तथ्यांक भने रिघा स्वास्थ्य चौकीमार्फत नगरमा पठाउने व्यवस्था छ । राजमार्ग लक्षित घटनाको रिपोर्टिङ क्लिनिकले सिधै नगरमा प्रविष्ट गर्दै आएको छ ।

यहाँबाट परिवार नियोजन सेवा पनि दिन थालिएको छ । त्यसका लागि आवश्यक सबै औषधि र अन्य सामग्री नगरपालिकाले नै उपलब्ध गराएको नगर स्वास्थ्य शाखाका प्रमुख सुशील पौडेलले बताए । यहाँ विभिन्न दाताले ह्विचियर र उपचार कक्षमा चाहिने सामग्री पनि सहयोग गरेका छन् । गलकोट नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति ल्याएको थियो ।

सोही अनुसार नगर अस्पतालमा प्रसूति सेवाका लागि अपरेसन र शिशु उपचार कक्ष बनाएको छ । त्यसबाहेक सबै स्वास्थ्य चौकीको गुणस्तरमा पनि सुधार गरेको स्वास्थ्य शाखाका प्रमुख पौडेलले बताए । सामान्य समस्या पर्दा सदरमुकाम धाउनुपर्ने गलकोटका बासिन्दाले अपरेसन र शिशु उपचार कक्षको सेवा पाए पनि अन्यत्र जान नपर्ने भएको हो ।

अस्पतालकी अनमि चन्द्र रोका काउचाका अनुसार कात्तिक र मंसिरमा मात्रै नगर अस्पतालमा ५ जनाले शल्यक्रियामार्फत शिशु जन्माइसकेका छन् । बाल उपचार कक्ष बनेकाले समयमा उपचार गरेर शिशुलाई पनि अप्ठ्यारो हुनबाट बचाउन सकिएको उनले बताइन् ।

अस्पतालले भिडियो एक्सरेलगायतको सेवा पनि संचालनमा ल्याएको छ । अस्पतालमा १५ बेड पनि संचालनमा छ । त्यसबाहेक अल्ट्रसाउन्ड, ल्याब, ओपीडी, सुत्केरी र आकस्मिक उपचार कक्ष तथा पोस्टमार्टम सेवा पनि संचालनमा छ । भवनमा उपकरण थप गरेर ती सेवा सहज रुपमा संचालन भएको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए । क्लिनिकबाट रिफर भएकाहरू यहाँ उपचारमा आइपुग्छन् ।

अस्पतालको तथ्यांकअनुसार गत आर्थिक वर्षमात्रै गलकोट अस्पतालमा मात्रै ३० हजार बढी बिरामीको उपचार भइरहेको थियो । नगरपालिकाले सबैभन्दा टाढाको रमुवामा पनि सामुदायिक स्वास्थ्य इकाइ राखेर प्रसूति सेवा लिन नसकेकालाई सेवा प्रवाह गरिरहेको छ ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully