बन्दीपुरले २ लाख पर्यटक भित्र्याउने

पुस १६, २०८१

कान्तिपुर संवाददाता

Bandipur will bring in 2 lakh tourists

काठमाडौँ — तनहुँको बन्दीपुरमा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना गरिने भएको छ । बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको हो ।

'प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा विकास गर्दै जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको संख्या वार्षिक दुई लाख पुर्‍याउने उद्देश्यसहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको हो,' गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले भने ।

त्यसका लागि गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा सचिवालय गठन गरेको गाउँपालिका अध्यक्ष थापाले बताए । उनका अनुसार सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतका प्रतिनिधि छन् ।

भ्रमण वर्षभरमा आन्तरिक र बाह्य एक/एक लाख पर्यटक भित्र्याउने तयारी गरिएको गुरुङले बताए । भ्रमण वर्षलाई आधार मानेर तीन वर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपुर पुर्‍याउने लक्ष्य रहेको उनले बताए । उनका अनुसार भ्रमण वर्षमा पर्यटक आकर्षित गर्न पर्यटकको उमेर र रुचिअनुसारको प्याकेज निर्माण गर्नुका साथै 'गाउँमै कमाऔं, गाउँमै रमाऔं' तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता बढाउने लक्ष्य लिइएको छ ।Bandipur will bring in 2 lakh tourists

भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइने र विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर तथा नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्‍याइने उनले बताए । बन्दीपुरमा हाल ७५ होटल र चार वटा होमस्टे (घरबास) छन् । गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् ।

भ्रमण वर्षका लागि चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । अनुमानित खर्च विवरणमा संघ, प्रदेश र स्थानीय सरकारका साथै अन्य विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुबाट अपेक्षा गरिएको प्रतिवद्धतालाई समेत राखिएको छ । साथै नेपाल सरकारको बन्दीपुर गाउँपालिका अन्तर्गत नियमित कार्यक्रम पनि समावेश गरिएको छ ।

कान्तिपुर

Link copied successfully