पोखरा — सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी भइरहेको बताएका छन् । तमु ल्होसारका अवसरमा सोमबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले यस विषयमा कानुन निर्माण प्रक्रिया अघि बढाउने बताए ।
गुरुङ र मगर समुदायको सांस्कृतिक, भाषिक पहिचानलाई संरक्षण गर्न यो कदम महत्त्वपूर्ण हुने उनको भनाइ छ । ‘स्थानीय समुदायसँग परामर्श गरी छिट्टै विधेयक प्रदेशसभामा प्रस्तुत गरिने छ,’ उनले भने, ‘आउँदो अधिवेशनमै कानुन पास हुने गरी अगाडि बढ्छौं ।’ गुरुङ र मगरभाषी समुदायको जनसंख्या उल्लेख्य भएको प्रदेशमा ती भाषा सरकारी कामकाजमा समावेश गर्नाले प्रदेशको सामाजिक समावेशिता र भाषा संरक्षणको अभियानमा थप बल पुग्ने विश्वास उनले लिए ।
कानुन निर्माण पछिको कार्यान्वयनका लागि आवश्यक जनशक्ति विकास, भाषा तालिम र प्रशासनिक संयन्त्रलाई बलियो बनाउनुपर्ने आवश्यकतालाई समेत उनले औंल्याएका छन् । आगामी दिनमा अन्य मातृभाषाको प्रवर्द्धनका लागि पनि यसलाई उदाहरणीय परियोजना बनाउन खोजिएको उनले उल्लेख गरे । ‘गण्डकी प्रदेशले पहिलोपल्ट यस्तो कानुनी पहल गर्न लागेको हो,’ उनले भने, ‘यसले बहुभाषिक संरचनालाई बलियो बनाउने अपेक्षा गरिएको छ ।’
पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै सोमबार पोखरा सहित देशभर तमु ल्होसार मनाइएको छ । गुरुङ समुदायले गरुड वर्षलाई बिदाइ गर्दै नाग वर्षको स्वागत गरेका हुन् । पोखराको पामेमा तमू हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् कास्की, महिला राष्ट्रिय परिषद् कास्की, छोंज धीं कास्की, तमु धीं नेपाल र पोखरा–११ स्थित तमु प्ये ल्हु संघ परिवारले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरेको हो । कार्यक्रममा पोखराका गुरुङ समुदाय आनो पहिचान झल्किने पहिरनमा सजिएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
