स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच बढाउँछौं : मुख्यमन्त्री पाण्डे
बागलुङ — मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउने बताएका छन् । ग्रामीण क्षेत्रका नागरिकले सहज स्वास्थ्य सेवा नपाएसम्म सहरका अस्पतालमा उपकरण थपेर मात्र नपुग्ने उनको भनाइ छ ।
बागलुङको बुर्तिवाङ अस्पताल शुक्रबार उद्घाटन गर्दै पाण्डेले एयर लिफ्टिङको लागत घटाउन पनि ग्रामीण क्षेत्रमा अस्पतालहरु चाहिएको बताए । गत वर्ष गण्डकी प्रदेश सरकारले ६७ जना गर्भवतीलाई प्रसूति समयमा हेली उद्धार गरेकोमा २९ जना बागलुङलगायतका ग्रामीण क्षेत्रका देखिएको उल्लेख गर्दै बुर्तिवाङ अस्पतालले प्रदेश सरकारको लागत घट्ने उनले विश्वास व्यक्त गरे । नागरिकको जीवन बचाउन सकेमा आर्थिक विकास छिटो हुने पाण्डेले दाबी गरे ।
गण्डकी प्रदेश सरकारले बागलुङको बुर्तिवाङ र गोरखाको आँपिपलमा चालु वर्ष अस्पताल बनाएको हो । यी दुई अस्पताल बनाउँदा सरकारलाई ४२ करोड व्ययभार थपिए पनि नागरिकको स्वास्थ्य सुधार भएमा आर्थिक क्षमता स्वत: बढ्ने उनको भनाइ छ । समयमा उपचार सेवा पाउँदा डायलायसिस सेवा लिने बिरामी घटेकोले त्यसबाट पनि खर्च बचाउन सकिने पाण्डेले बताए ।
निर्माण भएका अस्पताल र जुटाइएका उपकरण सदुपयोग गर्ने काम भने स्थानीयको भएको उनले बताए । ‘आजकल सकारात्मक धारणाभन्दा नकारात्मक धारणा बढेको छ, भएका कामबाट फाइदा लिनेभन्दा टिप्पणी गर्नेहरु बढी छन्,’ उनले भने, ‘अब विकासलाई अपनत्व लिन सक्नुपर्छ ।’ हुन नसकेका कामको मात्रै आलोचना गर्न पनि उनले सुझाए ।
गत वर्षको निर्णयपछि गण्डकी प्रदेश सरकारले यो वर्ष ओएनएम गरेर जनशक्तिसमेत थप गरी अस्पताल संचालन गरेको हो । २०६७ सालमा तत्कालीन बागलुङ जिल्ला अस्पताललाई अञ्चल हुँदै प्रादेशिक अस्पताल बनाएपछि यहाँ जिल्ला अस्पताल थिएन । भवन पर्याप्त भएर पनि जनशक्ति तथा राज्यको नीतिमै नपर्दा जिल्ला अस्पताल नबनेको हो । जिल्ला अस्पताल नहुँदा जनताले पाउनुपर्ने नि:शुल्क उपचार, औषधि, चौबीस घण्टे सेवा, ओपीडी, इमरजेन्सी र परिवार नियोजनजस्ता धेरै सेवा कटौती भएका थिए ।
अस्पतालले अपरेसन सहितको स्वास्थ्य सेवा थालिसकेको अस्पतालका प्रमुख डा. नवीन्द्र ढकालले बताए । ‘पूर्वाधारसहित भिडियो एक्स-रेदेखि प्रसूति सेवामा अपरेसन पनि संचालनमा आइसकेको छ,’ ढकालले भने, ‘डिजिटल तथा पूर्ण अटोमेटिक ल्याब पनि बनिसकेको छ ।’ यहाँ दस वर्षअघि नै पर्याप्त पुग्ने गरी भवन बनाइएको थियो ।
सदरमुकामदेखि ९० किमि पश्चिमको बुर्तिवाङमा अस्पताल अतिआवश्यक भएकोमा ढिला गरी सेवा पाउन सकिएको स्थानीय सीता कँडेलले बताइन् । ‘हामीलाई सामान्य उपचारमा मात्र हैन, दुर्घटनाको उपचारसमेत हुने अस्पताल चाहिएको हो,’ उनले भनिन्, ‘मध्यपहाडी लोकमार्ग बनेपछि सवारी दुर्घटनाका बिरामी पनि बढी आउने गरेका छन् ।’ स्थानीयले यहाँ ट्रमा कक्षसमेत माग गरेका छन् ।
गण्डकी प्रदेशसभा सदस्य द्रोण कुँवरले जिल्ला अस्पताल पहिलो आधार भएकोले ट्रमा लगायतमा पनि सरकारको ध्यानाकर्षण भएको बताए । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले पनि जनताको माग अनुसारका सेवा थप्ने तयारी भएको जनाएका छन् ।
अस्पताल नबन्दै यहाँ वार्षिक ७ सय जनाले त सुत्केरी सेवामात्रै लिएको तथ्यांक छ । ढकालका अनुसार यहाँ दैनिक ३ सयजनासम्म उपचारका लागि आउने गरेका छन् । हाल ढकाल बाल रोग विशेषज्ञ हुन् भने एमडीजीपी डा. अम्रेसकुमार महतो पनि कार्यरत छन् । अस्पतालले डेन्टल, आँखा उपचार, भिडियो एक्स-रे, क्षयरोगको जिन एक्स्पोट सेवासमेत दिन थालिसकेको छ । ढकालका अनुसार यहाँ मासिक २० वटासम्म अपरेसन भैरहेका छन् । हरेक वर्ष ८० बढी पोस्टमार्टमसमेत यहाँ भएको छ । तत्कालका लागि शवगृह बनाउने तयारी छ ।
ओपीडी, गर्भवती जाँच, सुत्केरी सेवा, आधारभूत ल्याब, खोप सेवा, परिवार नियोजन सेवा, क्षयरोग र कुष्ठरोगको उपचार सेवाजस्ता काम पनि नियमित संचालन भएको छ । यहाँ स्वास्थ्य सेवा नपाए स्थानीयहरु पाल्पा, बुटवल र पोखरा पुग्नुपर्ने बाध्यता छ । यहाँ रक्तसंचार सेवाका लागि पनि तयारी गरिएको छ । मध्यपहाडी लोकमार्ग बागलुङमा मात्रै १ सय ४२ किमि छ । उक्त खण्डमध्ये झण्डै ८० किमि खण्डको सेवा क्षेत्र पनि बुर्तिवाङ हो । यहाँ दुर्घटनाका बिरामी पनि धेरै आउने भएकोले रक्तसंचार सेवा अति आवश्यक भएको ढोरपाटन नगरपालिकाका जनस्वास्थ्य निरीक्षक चुडामणि कँडेलले बताए ।
