पर्यटन र कृषिमा लगानी बढाऔं : मुख्यमन्त्री पाण्डे

पुस ५, २०८१

हरिराम उप्रेती

Let's increase investment in tourism and agriculture: Chief Minister Pandey

गोरखा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उत्पादन तथा रोजगारी सिर्जना गर्न पर्यटन र कृषिमा लगानी बढाउनुपर्ने बताएका छन् । 

गोरखा उद्योग वाणिज्य संघको ४९ औं साधारणसभा तथा १७ औं अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै बसाइँसराईको दरलाई कम गर्न पनि उत्पादनसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । सात प्रदेशमध्ये गण्डी प्रदेशमा बसाइँसराईको दर बढिरहेको उनले बताए । ‘माइग्रेट भएर सहरी इलाकामा जाने, तराई झर्ने, विदेश जाने परिपाटी छ,’ उनले भने,‘हामीकहाँ जुनस्तरमा भइरहेको छ, यो डरलाग्दो अवस्था छ ।’ 

बसाइँसराईको क्रम यही गतिमा जारी रहे बस्ती रित्तिने, गाउँ पुगेका सडक, स्वास्थ्य चौकी, विद्यालयको औचित्य नहुने खतरा रहेको उनले बताए । ‘यो चिन्ताको विषय हो,’ उनले भने,‘मानिसलाई उत्पादनसँग जोड्यो भने आर्थिक गतिविधि बढ्न सक्छ भनेर उत्पादनमा आधारित अनुदान कार्यक्रम पनि ल्याएका छौं ।’ 

विशेषगरी कृषिलाई लक्षित गरेर कार्यक्रम संचालन भएको पनि उनले बताए । पूर्वाधारको प्रमुख क्षेत्र सडक संजाल रहेकाले प्रदेश सरकारले पालिकाको केन्द्र तथा वडाको केन्द्र जोड्ने सडकलाई प्राथमिकतामा राखेर काम गरेको पनि पाण्डेले बताए । 

गण्डकी प्रदेशअन्तर्गत गोरखाको चुमनुव्री र मनाङको नार्पाभूमि गाउँपालिकाको केन्द्र सडक सञ्जालले जोडिन बाँकी रहेको उनले बताए । ‘सबै पालिकाको केन्द्र जोड्ने सडक सरकारको नीति अनुरुप नै छ, पालिकाको केन्द्र जोडिएपछि वडाको मुख्य सडक सञ्जाल प्राथमिकतामा रहन्छ,’ उनले भने ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully