मुग्लिङ–पोखरा सडक विस्तार : पश्चिम खण्डको दोस्रो पटक म्याद थप

पुस ४, २०८१

सम्झना रसाइली

Mugling-Pokhara road extension: West section extended for the second time

तनहुँ — पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । करिब ८८ किलोमिटर दूरीको यो खण्डलाई दुई भागमा विभाजन गरी अहिले सडक विस्तारको कार्य भइरहेको छ । 

आँबुखैरेनी–जामुनेलाई पूर्वी खण्ड र जामुने–पोखरालाई पश्चिम खण्डमा विभाजन गरिएको छ भने आँबुखैरेनी–मुग्लिन खण्डको करिब ८ किलोमिटर दूरीको सडक विस्तारलाई कसरी अगाडि बढाउने भन्ने विषय अझै टुंगिएको छैन । राजमार्गको पूर्वी खण्डको विस्तार कार्य अन्तिम चरणमा पुगे पनि पश्चिम खण्डको काम भने अपेक्षित प्रगति हुन सकेको छैन । 

सडक विस्तार योजनाले पश्चिम खण्डका लागि दोस्रो पटक म्याद थपेको छ । सम्झौताअनुसार निर्माण पक्षले राजमार्ग विस्तारको कामलाई पूर्णता दिन नसकेपछि दोस्रो पटक म्याद थप गरिएको हो । ३ वर्षभित्र सडक निर्माण गरी हस्तान्तरण गर्ने गरी राजमार्गको पूर्वीखण्ड (आँबुखैरेनी-जामुने) २०७७ माघ १७ गते र पश्चिम खण्ड (जामुने–पोखरा) २०७८ जेठ २ गते सरकार र निर्माण पक्षबीच सम्झौता भएको थियो । 

तोकिएको समयमा निर्माण सम्पन्न नहुँदा पश्चिम खण्डको करिब एक वर्ष म्याद थपिएको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)का सूचना अधिकारी इन्जिनियर सौजन्य नेपालले बताए । ‘निर्माण पक्षले विभिन्न कारण देखाएर म्याद थपका प्रक्रिया अगाडि बढाएकोमा हामीले पनि सबै विचार गरी दोस्रो पटक म्याद थपका लागि पेस गरेका थियौं’, उनले भने, ‘सडक विभागबाट २०८२ पुस १६ गतेसम्मको थप म्याद पनि स्वीकृत भइसकेको छ । यो थप भएको समयमा निर्माण पक्षले काम सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाएको छ ।’

०८१ भदौसम्म काम सक्ने गरी चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पश्चिम खण्डको काम ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँको लागतमा सक्ने गरी सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्माण पक्षले काम अगाडि बढाउन नसक्दा कोरोना अवधिको १०१ दिन सहुलियत समय ०८१ मंसिर महिनासम्मका लागि म्याद थपिए पनि यो अवधिमा समेत काम नसकिएकाले पुनः दोस्रोपटक म्याद थपिएको उनले बताए । उनका अनुसार यस खण्डमा हालसम्म ३४.९४ प्रतिशतमात्र भौतिक प्रगति भएको छ भने २४.४२ प्रतिशत आर्थिक प्रगति भएको छ । ३९ किलोमिटर दूरी रहेको पश्चिम खण्डमा कुल २३.९१ किलोमिटर सडक पहिलो तहको कालोपत्र भएको छ । जसमा ५.४५ किलोमिटर दुईतर्फी र १८.४६ किलोमिटर एकतर्फी रहेको इन्जिनियर नेपालले बताए । 

यस खण्डमा ४ ठूला र ८ साना पुल गरी १२ वटा पुल निर्माण गर्नुपर्नेमा विजयपुर र कोत्रे खोलाको गरी दुई वटा पुल निर्माणाधीन अवस्थामा रहेको उनले बताए । कास्कीस्थित सेती पुलको टावर निर्माण भइरहेको छ । उनले भने, ‘फाउन्डेसनको काम सबै सम्पन्न भएका छन् । सव स्ट्रक्चर र सुपर स्ट्रक्चरको काम बाँकी छ । यो वर्ष अन्तिमसम्म तल्लो तर्फको पुल सम्पन्न गर्ने लक्ष्य छ ।’ यस पुलको भौतिक प्रगति ३२.१३ प्रतिशत र वित्तीय प्रगति २४.२४ प्रतिशत छ । 

यस्तै, सम्झौताअनुसार सडक निर्माण सम्पन्न गर्नका लागि तेस्रो पटक म्याद थपको तयारी गरिरहेको पूर्वी खण्डका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताए । उनले भने, ‘हालसम्म पनि खानेपानीको पाइप स्थानान्तरण नहुँदा, अन्डरग्राउन्डका तारहरुको स्थानान्तरण नहुँदा र बजार क्षेत्रका भौतिक संरचना पूर्ण रुपमा नहटाउँदा निर्माणलाई तीव्रता दिन नसकेको निर्माण पक्षको गुनासो छ । निर्माण पक्षबाट म्याद थपको कुरा चले पनि हामीसम्म आधिकारिकपत्र भने आएको छैन ।’

सडक क्लियर नहुँदा, निर्माण सामग्रीमा दोहोरो राजस्व तिर्नु पर्दा, समयमै भौतिक संरचनाहरु नहटाउँदा, कोरोना संक्रमणजस्ता कारणले समयमै निर्माण सम्पन्न गर्न नसकिएको उनले बताए । उनले भने, ‘डुम्रे, दमौली बजार क्षेत्र, बिमलनगरको पहरा क्षेत्र लगायतका लागि म्याद थप गर्नुपर्ने देखिएको छ ।’

यस्तै, पूर्वीखण्डले अन्तिम चरणको कालोपत्र सुरु गरिसकेको छ । हालसम्म २० किलोमिटर एकतर्फी सडकमा अन्तिम चरणको कालोपत्र सम्पन्न गरिएको पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले बताए । उनले भने, ‘थपिएको समयभित्रै काम सम्पन्न गर्नेगरी तीव्रगतिमा लागि परेका छौं ।’

०८१ वैशाखसम्म काम सक्ने गरी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पूर्वीखण्डको ठेक्का सम्झौता गरेको थियो । तर, तोकिएको समय अवधिभित्र काम सम्पन्न नभएपछि १५५ दिनको कोरोना सहुलियत समय थप गरी भदौ २९ सम्म पहिलो पटक म्याद थप गरिएको थियो । सो समयसम्म पनि निर्माण सम्पन्न नभएपछि पुनः दोस्रो पटक ०८१ फागुन १ गतेसम्मका लागि म्याद थपिएको पूर्वी खण्डका इन्जिनियार पाण्डेले बताए । उनका अनुसार यस खण्डको भौतिक प्रगति ७१ प्रतिशत र वित्तीय प्रगति ५३ प्रतिशत भएको छ ।

४१.४५ किलोमिटर दूरी रहेको पूर्वी खण्डमा हालसम्म करिब ६८ किलोमिटर एकतर्फी सडक कालोपत्र भएको उनले बताए । उनले भने, ‘आँबुखैरेनी, डुम्रे र जामुने खण्डमा करिब ३१ किलोमिटर ४ लेन र ६ किलोमिटर २ लेन सडक कालोपत्र गरिएको छ ।’

पूर्वी खण्डमा १३ वटा साना पुल बनिसकेका छन् भने ३ वटा ठूला पुल निर्माणाधीन अवस्थामा छन् । मादी नदी माथिको पुल करिब ५० प्रतिशत भौतिक प्रगति र ४० प्रतिशत आर्थिक प्रगति भएको योजनाले बताएको छ । 

०२६ मा रेखांकन भएको पृथ्वीराजमार्गमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा साविक २ लेनमा रहेको सडक चार लेनमा विस्तार गर्न लागिएको हो ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully