बाढीप्रभावित विद्यालयमा बालमैत्री कक्षा निर्माण, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पुस ४, २०८१

नवीन पौडेल

Construction of child-friendly classrooms in flood-affected schools, distribution of educational materials to students

नवलपुर — असोज १२ गते नारायणी नदीमा आएको बाढीले क्षति पुर्‍याएको पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-१५ को बाल सिद्ध आधारभूत विद्यालयको मर्मत गरेर बालमैत्री कक्षा निर्माण गरिएको छ । बाढीको कारण विद्यालय डुबानमा पर्दा पठनपाठन प्रभावित भएको थियो । 

मध्यविन्दु नगरपालिकाको समन्वयमा जागृति बाल तथा युवा सरोकार नेपाल, नेपाल हिल्फे बिटिकम किन्डर इन चिल्ड्रेन नेपालको सहयोगमा बाढीबाट क्षति पुगेको विद्यालयको कक्षाकोठा बालमैत्री बनाइएको हो । 

विशेष गरेर बाल कक्षा, पूर्वप्राथमिक तहका बालबालिकालाई अध्ययन गर्न असहज भएपछि बालमैत्री कक्षा व्यवस्थापन गरिएको हो । करिब १० लाख रुपैयाँको लागतमा ३ वटा कक्षा रङरोगन, भित्तेलेखन, ईसीडी कक्षाको व्यवस्थापन गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताए । 

कक्षाकोठाको व्यवस्थापन र बालमैत्री कक्षाको वातावरणसँगै सो विद्यालयमा अध्ययनरत ७२ जना छात्रछात्रालाई झोला, ट्र्याकसुट, कपि, पेन्सिल, साबुन, ब्रस र टुथ पेस्ट वितरण गरिएको छ । 

शैक्षिक सामग्री वितरण कार्यक्रममा मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले नगरमा खुसी पाठ्यक्रम लागू गरिएको र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन योजना ल्याइएको बताए । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully