गोरखा — गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा गर्ने भएको छ ।
यही पुस २१ गतेबाट पदयात्रा सुरु गर्ने नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले बताए । यात्रा जिल्लागत हस्तान्तरण हुँदै अघि बढ्ने उनले बताए । ‘पुस २१ गते गोरखाबाट सुरु हुने यात्रा सोही दिन धादिङको घाटबेंसीमा शिवदल गणलाई हस्तान्तरण गर्छौं,’ उनले भने ।
धादिङ-नुवाकोट हुँदै पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा काठमाडौं हनुमानढोकामा हुने विशेष समारोहमा पुगेर यात्रा टुंगिने छ । ‘कार्यक्रममा जनसहभागिता बढाउन र इतिहास बुझाउन के कसरी अघि बढ्न सकिन्छ भनेर आज सरोकारवालासँग पनि छलफल गर्यौं,’ उनले भने ।
गोरखा दरबारबाट हनुमानढोकासम्मको २६ कोषको दूरीको यात्रा हुन लागेको हो । सेनाले विगतका वर्षमा पनि गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ ।
यात्राले नेपाल एकीकरण पदमार्ग तथा ऐतिहासिक धरोहरको बारेमा भावी पुस्तालाई जानकारी गराउन सघाउ पुग्ने विश्वास लिइएको छ । नेपाल एकीकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गराउन नेपाली सेनाले पाँच वर्षअघिबाट पदयात्रालाई निरन्तरता दिँदै आएको छ ।
