लमजुङ — नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय पोखराको कर्मचारी रहेको भनी ठगी गर्दै हिँडेका एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङबाट असई कृष्ण विश्वकर्माको कमाण्डमा खटेको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा कास्कीको पोखरा महानगरपालिका २४ लेखनाथ बस्ने वर्ष २४ का अमृत कुमाललाई पक्राउ गरेको हो ।
लमजुङको क्व्होलासोथार गाउँपालिका ८, घाम्राङमा बिहीबार बिहान ८ बजेतिर आफू नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयको कर्मचारी रहेको, आफूले बिजुलीको मिटर धरौटीबापतको रकम जम्मा गर्न आएको, प्राधिकरणको छाप, नगदी रसिद समेत देखाएर हिँडेको र स्थानीयहरूले सोधपुछ गर्न थालेपछि फरार भएको खबर प्राप्त भएपछि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।
खोजतलासका क्रममा कुमाललाई लिखत कागजातहरु तथा स्ट्याम प्याडहरुसहित बिहीबार दिउँसो १ बजेतिर बेंसीसहर नगरपालिका ८, बेंसीसहरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कुमाललाई लमजुङ जिल्ला अदालतबाट शुक्रबार दिन ७ को म्याद थप गरी लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
