प्रसूति प्रतीक्षा–घरमा एकै वर्ष १ सय ७ जना सुत्केरीलाई आश्रय

मंसिर २६, २०८१

प्रकाश बराल

Maternal waiting - shelter for 107 new-borns in one year

बागलुङ — बाहिरबाट हेर्दा एक कोठे छाप्रो घर छ । भित्र ४ वटा बेड छन् । खाना पकाउने सामग्री, ग्यासको चुल्हो, खानेपानीको व्यवस्थापन । बाहिर विभिन्न सन्देशमूलक सामग्री लेखिएका छन् । यसै छाप्रोमा एक वर्षमा १ सय ७ जनासम्मले बास बसेका छन् । त्यो पनि एकदेखि सात दिनसम्म निःशुल्क बसेर स्वास्थ्य सेवा लिएका छन् ।

सदरमुकामदेखि १ सय २० किमि पश्चिमको निसीखोला गाउँपालिका– ३ को झिंवाखोला स्थित बोहोरागाउँ स्वास्थ्य चौकी भवनसँगै रहेको यो छाप्रो प्रसूति प्रतीक्षा–घर हो । स्वास्थ्य चौकीमा सेवा लिनेहरू धेरै टाढा भएकाले समयमा उपचारमा र सेवा लिन आइपुग्न समस्या परेपछि यो छाप्रो बनाइएको हो । 

यो छाप्रोमा सुत्केरी हुनुअघि र सुत्केरीपछि निःशुल्क बस्न पाइने व्यवस्था छ । प्रसूति व्यथाले च्यापेपछि मात्रै स्वास्थ्य संस्था कुद्ने समस्या हटाउन, प्रसूति अवस्थामा आउने जोखिम कम गर्न र आमा तथा शिशुको स्वास्थ्य रक्षाका लागि यो भवन उपयोगी बन्दै गएको स्वास्थ्य चौकीकी अनमि ताराकुमारी चन्दले बताइन् । 

यो छाप्रोमा गत आर्थिक वर्ष १ सय ७ जना महिलाले गर्भावस्था, प्रसूतिपूर्व र प्रसूतिपछि पनि उपयोग गरेका हुन् । चालु वर्षको ५ महिनामा पनि यहाँ ५२ जनाले सेवा लिइसकेका छन् । ‘सुत्केरी हुने एक–दुई दिनअघि नै यहाँ आएर बस्दा जोखिम हुने भए सुविधा सम्पन्न अस्पतालमा रिफर गर्न पाइन्छ,’ स्वास्थ्य चौकीका प्रमुख टोपबहादुर चन्दले भने, ‘अन्य के कस्तो जोखिम छ, त्यो पनि बुझ्न पाउँछौं ।’ नियमित गर्भ परीक्षण गर्नेहरूमा पनि प्रसूतिको समयमा जोखिम आउन सक्ने भएकाले एक–दुई दिनअघि नै यहाँ आएर बस्दा दक्ष प्रसूतिकर्मीको नियमित निगरानी पाउने उनले बताए । 

स्थानीय सिनियर अनमि तिला मल्लले त यहाँ आउने अधिकांश महिलाको स्वास्थ्य अवस्था जोखिममै हुने बताइन् । जतिसुकै स्वस्थ भए पनि प्रसूति अवस्थालाई सामान्य मान्न नहुने उनले सुझाइन् । ‘गर्भवती र सुत्केरी अवस्था जुन दिन पनि जोखिमको हो,’ उनले भनिन्, ‘प्रोटोकल अनुसार नियमित गर्भ परीक्षण गर्ने र समयमा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनु नै उत्तम हुन्छ ।’ राज्यले न्यूनतम ८ पटकसम्म गर्भ जाँचका लागि प्रोटोकल बनाएको समेत सोही कारण भएको उनले बताइन् । 

यो स्वास्थ्य चौकीमा आइपुग्न वडाभित्रबाटै तीनदेखि चार घण्टासम्म पैदल हिंड्नुपर्ने बाध्यता छ । गत वर्ष समयमा स्वास्थ्य संस्थामा नआएकी एक महिलाले प्रसूति अवस्थामा ज्यान गुमाएकी थिइन् । उनको त्यो समस्या देखेपछि त स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले पनि नियमित गर्भ जाँच गर्न र प्रसूति समयमा स्वास्थ्य संस्थामा रहेको प्रतीक्षा–घरमा गएर बस्न सुझाव दिन थालेका छन् । 

निसीखोला गाउँपालिकाले ३ लाख रुपैयाँ विनियोजन गरेपछि यहाँको फेयरमेड फाउन्डेसनले संचालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाले २ लाख ५० हजार रुपैयाँ लगानी गरी ५ लाख ५० हजार रुपैयाँको लागतमा यो प्रतीक्षा–घर बनाएको हो । चार वर्षअघि बनेको यो छाप्रोमा सुरुवातमा आएर बस्ने कोही थिएनन् । छिटफुट हुँदै अहिले भने धेरै जना आउन थालेका छन् । स्वास्थ्य संस्था वरपरका बाहेक केही परबाट आउनुपर्नेहरू नियमित रूपमा आएर बसेको मल्लले जानकारी दिइन् । 

गाउँपालिकाले स्वास्थ्य सेवाकै लागि निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । नजिकका स्वास्थ्य संस्थासम्म पुग्नका लािग सेवा दिने, तत्काल रिफर गर्नुपर्ने र जोखिम भएमा केही खर्च समेत दिएर पठाउने काम सुरु भएको अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । ‘सानो लगानीको प्रतीक्षाघरले अहिले ठूलो साथ दिएको छ,’ उनले भने, ‘सुरुमा त यो के होला र भन्ने लागेको थियो, अहिले यो छाप्रो धेरै उपयोगी रहेछ भन्ने भएको छ ।’ स्वास्थ्य संस्थामा बस्नेलाई पालिकामार्फत लुगाफाटो समेत उपलब्ध गराइएको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully