कृष्णभीरबाट खसेको बुलेटको ग्यास लिकेज

ग्यास बुलेट नदीबाट निकाल्न प्राविधिक सहितको टोलीले अध्ययन गर्ने

मंसिर २३, २०८१

हरिराम उप्रेती

Gas leakage of bullets falling from Krishnaveer

काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरबाट त्रिशूलीमा खसेको ग्यास बुलेट नदी बाहिर ल्याउन प्राविधिक सहितको टोलीले अध्ययन गर्ने भएको छ । 

त्रिशूलीमा खसेको बुलेटबाट ग्यास लिकेज भइरहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले बताए । ‘चितवनबाट प्राविधिक सहितको टोली बोलाएर अध्ययन गर्दैछौं, ग्यास लिकेज भइरहेको जानकारी आएको छ, कसरी सुरक्षित तवरले निकाल्ने भन्ने विषय प्राविधिकसँगको सल्लाहबाट निर्क्योल गर्छौं,’ उनले भने । लिकेजको मात्रा बढाएर बुलेट नदी बाहिर ल्याउने विकल्पबारे पनि छलफल भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर सहितको टोली पनि पुगेको छ । ग्यास बुलेट श्रीराम ग्यास उद्योगको रहेको पनि उनले बताए । 

बुलेट चालक सम्पर्कमा रहेको अपुष्ट खबर आएको पनि उनले बताए । ‘उहाँहरुकै मान्छेसँग सम्पर्कमा हुनुहुन्छ भन्ने अपुष्ट खबर आएको छ, यसबारे बुझ्दैछौं,’ उनले भने । घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद व्यवस्थापन वेस आदमघाटबाट गोताखोर सहितको टोली पनि परिचालन गरिएको छ । 

काठमाडौंतर्फ ग्यास बोकेर जाँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको भारतीय नम्बर प्लेटको गाडी आइतबार बिहान त्रिशूलीमा खसेर दुर्घटना भएको थियो । सवारीको अगाडिको भाग भीरमा अड्किएको छ भने ग्यास रहेको बुलेट नदीमा पुगेको छ । अनियन्त्रित भएर गाडी दुर्घटना भएको पनि प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully