बागलुङ — सामान्य समस्या पर्दा सदरमुकाम धाउनुपर्ने गलकोटबासीले गाउँमै अपरेसन र शिशु उपचार कक्षको सेवा पाएका छन् । गलकोट नगर अस्पतालले प्रसूति सेवाका लागि अपरेसन र सघन बाल उपचार कक्ष बनाएर संचालनमा समेत ल्याएको हो ।
अस्पतालले दक्ष चिकित्सकसहित यहाँ अपरेसन, भिडियो एक्सरे लगायतको सेवा संचालनमा ल्याएको हो । अस्पतालमा १५ बेड पनि संचालनमा छ । त्यसबाहेक अल्ट्रासाउण्ड, ल्याब, ओपीडी, सुत्केरी र आकस्मिक उपचार कक्ष तथा पोस्टमार्टम सेवा पनि संचालनमा छ । भवनमा उपकरण थप गरेर ती सेवा सहज रूपमा संचालन भएको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए ।
थप पूर्वाधार निर्माणका लागि ४ रोपनी जग्गा पनि खरिद गरेर आवश्यक तयारी भइसकेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । तीन वर्षदेखि मात्र यो अस्पताल संचालनमा आएको हो । अस्पतालको तथ्यांक अनुसार गत आर्थिक वर्ष मात्रै यहाँ ३० हजार बढी बिरामीको उपचार भइरहेको थियो । शून्यबाट जिल्ला अस्पतालसरहको सेवा संचालन गर्न नगर पालिकाले पूर्वाधार निर्माणमा साथ दिएको थियो भने गण्डकी प्रदेश सरकारले सामग्री खरिदमा साथ दिएको थियो । त्यसबाहेक फेयरमेड फाउन्डेसनले संचालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाले बर्थिङ सेन्टरका लागि चाहिने सबै उपकरण र सामग्री सहयोग गरेको थियो ।
पूर्वाधार र सामग्री पुगेपछि परिवार स्वास्थ्य महाशाखाले गत भदौ १६ गते अस्पताललाई अपरेसन सेवाको अनुमति दिएको थियो । यहाँ गलकोट समाज जापानले एम्बुलेन्स लगायत अन्य कोष निर्माणमा पनि सहयोग गरेको छ । स्थानीय झप्परबहादुर बस्नेतले आमाबाबुको सम्झनामा अस्पतालमा १० लाख खर्चेर मर्चरीसमेत सहयोग गरेका छन् ।
अस्पतालको भवन बने पनि सुत्केरी कक्ष र शिशु सेवाको अभाव थियो । मंसिर पहिलो सातादेखि भने दुवै सेवा सहज बनेको हो । ‘अब हामीले नियमित अपरेसन सेवा दिन सक्ने भएका छौं, तर अझै रक्त संचारको अभाव छ,’ अस्पताल प्रमुख पौडेलले भने, ‘त्यसका लागि सहयोगको खोजी भइरहेको छ ।’
सेवासहित पोस्टमार्टम सेवासमेत संचालनमा छ । जसका कारण गलकोट नगरपालिका, ताराखोला र बडीगाड गाउँपालिका तथा गुल्मीका केही स्थानबाट बिरामीले यहाँ आएर सेवा पाउन सहज भएको छ ।
नगर प्रमुख गैरेले नीति र कार्यक्रममा समेत जनताको स्वास्थ्य नै पहिलो प्राथमिकता भन्ने नारा बनाएको बताए । सोही अनुसार चालु वर्षको बजेटसमेत विनियोजन गरिएको छ । ‘नगरभित्रै अपरेसनसहितको सेवा दिने चाहना थियो, बल्ल पूरा भएको छ,’ उनले भने, ‘यो सेवालाई निरन्तरता दिनका लागि नगरपालिकाले निरन्तर लगानी बढाउने लक्ष्य राखेको छ ।’
