चौकीदारसहित ६ जना नियन्त्रणमा
लमजुङ — लमजुङ सदरमुकाम बेंसीसहरस्थित जिल्ला कारागारका कैदी–थुनुवाबीच झडप भएको छ । प्रहरीका अनुसार शनिबार राति ७ बजेतिर कैदी–थुनुवाको दुई पक्षबीच झडप भएको हो ।
चौकीदार र झडपमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा लगिएको जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए । झडपमा संलग्न कैदीहरु अमल घले, श्रीकृष्ण चिलुवाल र देव गुरुङ साथै थुनुवाहरु मौलादिन मिया र तेज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीको थुनुवा कक्षमा लगिएको छ ।
यस्तै, चौकीदार खुसीराम मग्रातीलाई पनि नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याएको डीएसपी श्रीवास्तवले बताए । झडपमा संलग्नलाई छुट्याउने क्रममा कैदीहरु चिजकुमार श्रेष्ठ, सन्दीप श्रेष्ठ र दीपक सुनार घाइते भएका छन् । उनीहरुको हातहरुमा सामान्य चोट लागेको र कारागारभित्रै उपचार गरिएको डीएसपी श्रीवास्तवले बताए ।
प्रहरीका अनुसार कैदी–थुनुवाबीच चौकीदारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै एक अर्काप्रति आरोप–प्रत्यारोप हुँदा झगडा भएको बुझिएको छ । थप अनुसन्धान भइरहेको डीएसपी श्रीवास्तवले बताए ।
प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले कैदी–थुनुवाको दुईपक्षबीच चौकीदारको कामकारबाहीलाई लिएर झगडा भएको बुझिएको बताए । कैदी–थुनुवाबीच झगडा भएपछि कारागारमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । मौजुदा सुरक्षाकर्मीबाहेक २५ जना नेपाल प्रहरी र ७ जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ ।
कूल ३५ जना क्षमताको लमजुङ कारागारमा १ सय २० जना कैदी–थुनुवा छन् । यसमा कैदी पुरुष ५२ र महिला ३ गरी ५५ जना छन् । पुरुष ६४ र महिला १ गरी ६५ जना थुनुवा छन् ।
