बागलुङ — जैमिनी नगरपालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रम होस् या गाउँमा हुने भेला वा उत्सव, यहाँ आएका पाहुनालाई उपहारका रूपमा बाँकोको गुन्द्रुक दिन थालिएको छ ।
वर्षौंदेखि जंगलमा कुहिएर गएको बाँको पछिल्लो समय स्थानीय उद्यमीले गुन्द्रुकका रूपमा उत्पादन गर्न थालेका छन् । यो उत्पादनले बजारसमेत पाउन थालेको छ । सुरुमा चासो नराख्ने उपभोक्ताले पनि बाँकोको गुन्द्रुक भनेपछि खोजी खोजी किन्न थालेका छन् । लेकाली जंगलमा पाइने बाँको स्थानीय किसानको आम्दानीको स्रोत बनेको छ ।
जैमिनी नगरपालिका– ३ दमेकका किसानले पछिल्लो तीन वर्षदेखि बाँकोको गुन्द्रुक बनाएर बजारमा ल्याएका हुन् । बाँको यहाँको लेकाली जंगलमा पाइन्छ । सागझैं ठूला पात भएको भुइँमा पाइने बाँको अब सहरिया होटलको भान्सामा समेत प्रयोगमा आउन थालेको छ ।
गाउँमा हुने सार्वजनिक कार्यक्रममा पनि उक्त बाँको उपहारका रूपमा दिन थालिएको स्थानीय सिमाना छन्त्यालले बताइन् । यसरी दिइने उपहारले किसानको उत्पादनलाई बजारीकरणमा पनि सहयोग पुगेको छ । जैमिनी नगरपालिलको लेबलिङ र प्याकेजिङमा साथ दिएपछि गुन्द्रुकले बजारसमेत पाउन थालेको हो ।
दमेकका छन्त्याल आमा समूहले कृषि समूहका रूपमा सूचीकृत गरेर बाँकोको गुन्द्रुक उत्पादन गर्न लागेका हुन् । यहाँका १ सय ४५ महिला यो समूहमा बसेर गुन्द्रुकलाई व्यावसायिक समेत बनाउन लागेका हुन् । ‘अहिले त सस्तो मूल्यमा बेचिएको छ, पछि व्यावसायिक बन्दै जाला,’ स्थानीय नानीकला छन्त्यालले भनिन्, ‘गाईभैसीले पनि नखाएर फालेका थियौं, अहिले उपयोग बन्दै गएको छ ।’
बुढापाकाले हिउँदमा गुन्द्रुक बनाएर खाए पनि युवा पुस्तामा चासो थिएन । समूहले व्यावसायिक बनाएपछि भने गाउँका युवाले मात्र होइन, सदरमुकाम र पोखरासम्मका होटलको परिकारका रूपमा बाँकोको गुन्द्रुक उपयोगमा आएको हो ।
जिल्ला सदरमुकामका होटलमा त पछिल्लो समय प्रशस्त भेटिन्छ भने पोखरामा पनि पाइन थालेको हो । अचार र झोलका रूपमा खान पनि यो प्रयोगमा आउने गरेको हो । ‘अचारका रूपमा साँधेर खाने त धेरै छन्,’ स्थानीय होटल व्यवसायी सविता आचार्यले भनिन्, ‘बेलाबेला मगाउने गरेकी छु, टिमुर लगायतको अचारमा बढी मन पराइन्छ ।’ यो गुन्द्रुक भेगन समूहले बढी मन पराएको समेत उनले बताइन् ।
नगरपालिकाले आर्थिक सहयोग गरेपछि लघु उद्यम कार्यक्रममार्फत आएका प्रशिक्षकले यहाँका किसानलाई गुन्द्रुक बनाउने र लेबल लगाउने काममा साथ दिएका थिए । त्यसका लागि तोकिएको तापक्रममा सुकाउने र प्याकिङ गरेपछि ६ महिनादेखि ९ महिनासम्म उपयोग गर्न सकिने व्यवस्थापन गरिएको हो ।
गुन्द्रुक उत्पादनमा भने छन्त्याल महिला समूह र यहाँको सिद्द बराह कृषि समूहले आफैं लगानी गरेका छन् । किसानले बाँकोबाट राम्रो आम्दानी गर्न थालिसकेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । उक्त समूहले सिस्नोको पाउडर पनि बनाएर बेच्न थालेको छ ।
कृषि ज्ञान केन्द्रले पनि किसानको उत्पादनको गुणस्तर मापनमा साथ दिएको थियो । व्यावसायिक रूपमा उत्पादन हुन थालेपछि यहाँका सामुदायिक वनले वर्षको दुई पटक १५/१५ दिनका लागि बाँको टिप्ने व्यवस्थापन गराएको छ । जैमिनीको वडा नं. ३ मा मात्रै ५ सय केजी गुन्द्रुक उत्पादन हुने गरेको छ । प्रति १ सय ग्रामलाई किसानले ५० रुपैयाँमा बेच्ने गरेका छन् ।
