गाउँपालिकाद्वारा विद्यार्थीका नाममा बैंक खाता

मंसिर २०, २०८१

सम्झना रसाइली

Bank account in the name of the student by the municipality

तनहुँ — बालबालिकालाई नगद बचत गर्ने बानीको विकास गराई अध्ययनमा सहज बनाउने उद्देश्यले जिल्लाको आँबुखैरेनी गाउँपालिकाले विद्यार्थीको बैंक खाता खोलिदिएको छ ।

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममै समावेश गरी मातहतका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको बैंक खाता खोलिएको हो । 

शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘विद्यार्थी बचत खाता’ सञ्चालन गरी विद्यार्थीको नाममा बैंक खाता खोलिदिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । यस कार्यक्रममार्फत सानैदेखि बचत गर्ने बानीको विकास, रुचि तथा क्षमताअनुसारको उच्च शिक्षाको पहुँच र उद्यमशील विकास गरी सुनौलो भविष्य निर्माणका लागि सहयोग पुर्‍याउने उद्देश्य रहेको चुमानले बताए ।

गाउँपालिकाले मंसिर ६ गते आँबुखैरेनी–३ स्थित रामशाह माध्यमिक विद्यालयबाट यो कार्यक्रम सुरु गरेको थियो । हालसम्म करिव ३ सय जना विद्यार्थीको बैंक खाता खोलिएको गाउँपालिकाले जनाएको छ । ‘हामीले कार्यक्रम सुरु गर्दा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको मात्रै बैंक खाता खोलिदिने गरी सुरुवात गरेका थियौं,’ उनले भने, ‘यसै कार्यक्रमलाई परिमार्जन गरी अहिले सामुदायिक र संस्थागतका अध्ययनरत छात्रा र छात्रहरूकै बैंक खाता खोलिदिने भएका छौं ।’

अध्यक्ष चुमानका अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई एक हजार रुपैयाँ बचत मौज्दातसहित निःशुल्क विद्यार्थी बचत खाता खोलिदिनेछ तर सामुदायिकका छात्र र संस्थागत विद्यालयका छात्रा र छात्रले भने आफैंले एक हजार रुपैयाँ बचत मौज्दात गर्नुपर्ने हुन्छ । उनले भने, ‘कक्षा १ देखि १० सम्मका विद्यार्थीको विद्यार्थी बचत खाता खोलिदिन्छौं । यसले उनीहरूमा सानैदेखि बचत गर्नुपर्छ भन्ने भावनाको पनि विकास हुन्छ ।’

१२ कक्षबाट उत्तीर्ण भएपछि थप उच्च शिक्षा हासिल गर्न बचतमा रहेको पैसाको सहयोग हुने, पढ्दै कमाउँदै कार्यक्रमलाई पनि यसैसँग जोड्ने र बैंक र गाउँपालिकाले मिलेर विद्यार्थीलाई केही शिक्षा/तालिम दिने उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । रामशाह माविबाट सुरु भएको यो कार्यक्रम सबै वडाका सामुदायिक विद्यालयमा सञ्चालन गरिने उनले बताए । 

यस्तै, गाउँपालिकामा करिब ७ हजार जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको खाता कुमारी बैंकसँगको समन्वयमा खोलिनेछ । बैंकले २० हजार रुपैयाँ बराबरको स्वास्थ्य बिमाको सुविधा दिने उनले बताए । उनले भने, ‘यो कार्यक्रमले बचत गर्ने बानीको विकास गर्ने, विद्यार्थीको शिक्षा तथा स्वास्थ्यमा पहुँच सुनिश्चित गर्ने, विद्यार्थीको रुचि तथा क्षमताअनुसारको उच्च शिक्षाको पहुँचमा सहयोग पुग्नेछ ।’

आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा २४ वटा सामुदायिक र ८ वटा संस्थागत गरी ३२ विद्यालय रहेका छन् । ती विद्यालयमा करिब ७ हजार १ सय ६७ जना विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत २ हजार ५ सय जना छात्रालाई निःशुल्क बैंक खाता खोलिदिने भएको छ । जसका लागि गाउँपालिकाले २५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । 

यसअघि गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीति पनि ल्याएको छ ।

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully