गोरखा — गोरखा नगरपालिका–५ मा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा ६१.७१ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार ७ सय ५७ महिला र ६ सय १६ पुरुष गरी १३ सय ७३ मत खसेको हो । उपनिर्वाचनका लागि गोरखा–५ मा २ हजार २ सय २५ मतदाता रहेका थिए । गोरखा नगरपालिका–५ को वडा कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने काम भइरहेको छ ।
मतपेटिका ढुवानीपश्चात् आजै मतगणनाको तयारी भएको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले बताए । ‘दलका प्रतिनिधिहरुसँग छलफल गरी मतगणना सुरु गर्ने तयारीमा छौं,’ उनले भने । वडा नम्बर ५ को वडा कार्यालयमा मतगणना स्थल तयार गरिएको छ ।
उपनिर्वाचनमा ९ जना उम्मेदवार छन् । गोरखकाली आधारभूत विद्यालय स्वाँरा र शिवशक्ति आधारभूत विद्यालय अमराई गरी दुई वटा मतदान स्थल थिए ।
२०७९ सालमा निर्वाचित वडाअध्यक्ष खिलबहादुर रानाको निधन भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो ।
