बागलुङ — बागलुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई बागलुङ नगरपालिकाले विश्व सम्पदामा सूचिकरण गर्न पहल गर्ने भएको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले १५ औं नगरसभामा ल्याएको नीति तथा कार्यक्रममा हनुमान नाचलाई सूचिकरणको आवश्यक काम अगाडि बढाइने घोषणा गरेका हुन् ।
३ सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान नाच बागलुङमा सुरक्षित छ । पर्यटन प्रवर्द्धनका लागि उक्त नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएको सरोकारवालाको सुझाव समेत छ ।
मानिसले बाँदरको भेष बनाएर नाचिने भएकोले हनुमान नाच भनिएको हो । उक्त नाचलाई यहाँको पर्यटन प्रवर्द्धनमा पनि जोडिएको छ । एकैपटक १४ जोडीले नाच्ने भएकोले पर्यटक आर्कषण गर्ने नाचको रुपमा पनि लिइन्छ ।
नगरपालिकाले पर्यटन प्रवर्द्धनलाई पहिलो प्राथमिकतामा राखेको छ । यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा हरेक वर्ष १० लाख बढी भक्तजन आउने गरेका छन् । ती भक्तजनलाई बागलुङ घुम्ने बनाउन पर्यटन प्रवर्द्धनसँग जोड्न लागिएको हो । त्यसका लागि दर्जन बढी स्थानको प्रवर्द्धन, ती क्षेत्र हेर्न ‘बागलुङ घुम्न जाऔं’ कार्यक्रम समेत समावेश गरिएको छ ।
पहिलो चरणमा बागलुङ नगरपालिकाले यहाँका ११ वटा पर्यटकीय क्षेत्रको विभिन्न भाषामा अध्ययन गर्न मिल्ने गरी ‘क्यूआर कोड’ मार्फत जानकारी दिने व्यवस्था गरिसकेको छ । बागलुङ कालिका, पञ्चकोट, भैरवस्थान, शालिग्राम संग्राहलय, नेपालकै लामो झोलुगे पुल लगायतलाई क्युआरमा राखेको हो । नगरपालिकाले ‘उपप्रमुख पर्यटन विकास कार्यक्रम’ संचालनमा ल्याएको छ ।
बागलुङको काठेखोला गाउँपालिकाले लोप हुन लागेको गोरु जोगाउने नीति ल्याएको छ । गाउँपालिका अध्यक्ष राजु थापाले गाउँसभामा पेस गरेको नीति तथा कार्यक्रममा ‘गोरुलाई पोषण, किसानलाइ प्रोत्साहन’ कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कृषि उत्पादनलाई प्राथमिकता दिएको गाउँपालिकाले गोरु संरक्षण गर्ने किसानलाई साथ दिने भएको हो । गोरु पाल्ने किसान भए पोषण स्वरुप अनुदान दिने गरी नीति आएको हो । कृषि क्षेत्रको विकासकालागि मात्रै दुई दर्जन शीर्षक राखेर गाउँपालिकाले नयाँ प्रविधिसँगै परम्परागत विधिलाई पनि जोगाउने योजना ल्याएको हो । यन्त्रीकरणमा अनुदान दिने नीतिमात्र हुँदा गोरु पालेर नियमित खेतीपाती गरेका किसानलाई सम्बोधन नभएपछि गाउँपालिकाले यो नीति ल्याएको गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।
गोरुसहित पशुचौपायाको संरक्षणतर्फ चासो राख्दै हरेक वडामा भेटेरेनरी माइनर ल्याब समेत स्थापना गर्ने योजना अगाडि सारिएको हो । किसानलाई चापकट मेसिनमा अनुदान दिने, हिउँदे घाँसको बेर्ना वितरण गर्ने योजना पनि समावेश छ ।
ताराखोला गाउँपालिकाले भने नवप्रवर्द्धन कार्यक्रम भन्दै उत्पादनमा जोड दिएको छ । अध्यक्ष धनबहादुर बिकले प्रस्तुत गरेको कार्यक्रममा आलु र भाँगोलाई मुख्य उत्पादनमा राखेको हो । आलु र भाँगोको उत्पादन बढाएर किसानलाई धनी बनाउने योजना सारिएको हो ।
गलकोट नगरपालिकाले नागरिकको स्वास्थ्य नै प्रमुख दायित्वको रुपमा लिएको छ । स्वास्थ्यका सूचक अब्बल बनाउने गलकोटको मुख्य नीति बनेको छ । त्यसकालागि नगर अस्पतालमा विशेषज्ञ सेवा दिने, सबै वडामा ल्याबसहितका स्वास्थ्य चौकी बनाउने योजना छ । तमानखोला गाउँपालिकाले नो होम डेलीभरी अभियानलाई पहिलो प्राथमिकतामा राखेको छ ।
जैमिनी नगरपालिकाले बाँदरको नियन्त्रणमा जोड दिएको छ । किसानलाई गाउँमा अडिने बनाउन र उत्पादकत्व बढाउन बाँदर पार्कको अभियान ल्याएको हो । अन्य पालिकाले कृषि उत्पादन, शिक्षा र स्वास्थ्यमा जोड दिएका छन् । लामो समयसम्म सडक पूर्वाधारमा धेरै लगानी गरेका स्थानीय तहले यो पटक भने पूर्वाधार भन्दा सामाजिक विकासको क्षेत्रलाई चासोको रुपमा लिएका छन् । यो सकारात्मक कुरा भएको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताए ।
‘भौतिक विकासभन्दा सामाजिक विकासमा लगानी र कार्यक्रम राख्नु राम्रो हो,’ उनले भने, ‘विकास भनेको सडक खन्ने मात्र हो भन्ने धारणा परिवर्तन भएको छ ।’ नागरिकको स्वास्थ्य, शिक्षा र रोजगारी राम्रो भए अरु बिकास सहज बन्ने उनले बताए ।
