माटोसँग खेल्ने ‘हिरो’

असार ५, २०८१

प्रकाश बराल

”Hero” playing with mud

बागलुङ — ‘चलचित्र खेल्ने, पर्दामा देखिने मात्रै हिरो होइन, माटो खेल्ने पनि हिरो हुन्छ’ बागलुङ नगरपालिका–३ को गौंडाकोटस्थित राहुल कृषि फर्ममा भेटिने ४८ वर्षका गंगाबहादुर थापा अक्सर क्यामेरा बोकेर आउनेलाई यो भन्न भुल्दैनन् । ‘म हिरो नभएको भए तपाइहरुका यतिधेरै क्यामेरा किन म तर्फ तेर्सिन्छन् ?’ उनले प्रश्न समेत गर्छन् ।

उनको बारीमा फसल हेर्न मात्र हैन, उनको मिहिनेतबारे जान्न पनि धेरै आउँछन् । कहिले सहकारीको ठूलो जमात नै आउँछ भने कहिले किसानको सानो समूह उनको बारीमा अध्ययन गर्न आइपुग्छ । किसानको हातमा क्यामेरा हुँदैन, तर मोबाइलबाट धेरैले थापाको तस्बिर खिचेर लैजान्छन् । 

आठ वर्षअघि २०७२ मा तत्कालीन मुख्य सचिव लिलामणि पौडेलले थापालाई नेपालको पहिलो किसान परिचयपत्र पनि दिएका थिए । गमलामा धान रोपेर फोटो खिचाउने नेताको भीडबाट निस्केर पौडेल थापाको बारीमा पुगेर खेत जोते । किसानलाई समय दिए ।

मुख्य सचिवलाई गौंडाकोटले त्यसै तानेको थिएन । त्यहाँ जग्गा भाडामा लिएर कृषिबाली उत्पादन गरिरहेका गंगाबहादुर थापा र उनी संलग्न मिर्मिरे कृषि सहकारी संस्थाले सरकारको ध्यान खिचेको थियो । किसानको खेतमा आएर मुख्य सचिव पौडेलले हिलो मात्रै खेलेनन्, उनले आँफै खेत जोते, किसानलाई प्रोत्साहन गरे । नेपाल सरकारले तयार पारेको पहिलो किसान परिचयपत्र थापालाई दिएका थिए । 

कृषिमा लागेका कतिपयले अनुदान लिएर व्यवसाय नै छाडेका छन् । कति त बिदेश हानिए । तर थापाले न पुरस्कारका लागि खेती गरे न बिदेशी भूमिमा जाने योजना नै बनाए । 

”Hero” playing with mud

बागलुङ नगरपालिका-३ मा रहेको राहुल कृषि विकास फर्म उनको मुख्य भेट्ने स्थान हो । त्यसबाहेक उनले व्यक्तिगत र साझेदारीमा फरक-फरक स्थानमा कृषि कर्म गरिरहेका छन् । सँधै सुकिलो कपडा लगाएर काम गर्ने उनको बानी छ । किसानलाई फोहोरमैला मात्र भएको देख्ने समाज परिवर्तन गर्न खोज्छन् उनी । ‘हामी माटो खेल्ने हिरो बन्ने हो,’ थापाले भने, ‘किसान भनेर सँधै धुलोमैलो हुनैपर्छ भन्ने छैन ।’ 

जैमिनी नगरपालिका–९ पैयुँथन्थाप घरभएका थापा २०५७ देखि व्यवसायिक कृषि पेशामा संलग्न छन् । त्यसअघि पनि घरमा परम्परागत खेतीपाती गरेको थापा परिवारबाट गंगाले व्यवसायिक कृषि पेशा अंगाल्ने योजना बनाए । कुश्मीसेरा बजारमा ३ वर्षसम्म जग्गा भाडामा लिएर खेती गरेपछि सदरमुकाम हानिए ।

सदरमुकामको नजिकैका जग्गा खोज्दा वडा ४ को कुँडुले फाँट उनलाई खुबै मन पर्‍यो । तर सिँचाइको अभाव देखियो । त्यसपछि वडा ३ को गौडाकोटमा पुगे । बजारका ‘रामचन्द्र साहु’को पुरानो गोठ मात्रै थियो गौडाकोटमा ।

२०३६ सालमा बनेको काठेखोला जलविद्युत आयोजना बन्द भएपछि यो स्थानमा मानिस जान्थेनन् । बजारका ठूला साहुहरुले बर्षातमा धान रोप्ने काम मात्रै गर्थे । हिउँदभर गौडाकोटको फाँट बाँझै हुन्थ्यो । गौचरन जस्तै देखिन्थ्यो ।

गंगाबहादुरले एकैपटक १२ रोपनी जमिन भाडामा लिन खोजे । साहुहरुले पत्याएनन् । तर उनले खेती गरेर बाँझो जमिन उपयोग गरेपछि अरु साहुले पनि जग्गा भाडामा लगाउन खोजे । २०६० मा २८ वर्षको उमेर छँदा गंगाबहादुरले व्यवसायिक खेती गर्छु भनेको देख्दा धेरैले हाँसोमा उडाए । ‘सुरुमा २५ हजार भाडा तिरेर १० रोपनी जमिन पाएँ,’ थापाले भने, ‘उत्पादन बढ्न थालेपछि अर्को वर्ष जमिन बढाएँ ।’ थापाले २ लाखसम्म बार्षिक भाडा तिरेर ३४ रोपनी भन्दा धेरै जमिन उपयोग गरे । छिमेकी युवाहरुलाई पनि यहीं बोलाए । 

”Hero” playing with mud

स्थानीय भुपेन्द्र श्रेष्ठ, टेकनारायण श्रेष्ठ, इन्द्रराज पन्तलगायतको जमिन भाडामा लिएर थापाले बेमौषमी तरकारी खेती थाले । बाँझो बनेको जग्गा थापाको मिहेनतले हरियाली भयो । प्लाष्टिकका टनेलमा हरित क्रान्ति गर्न थापा सफल भए । जसको कारण बागलुङ बजारको तरकारी आयातलाई कम गर्न सहयोग पुग्यो ।

थापाले राम्रो गर्न थालेपछि साहुहरुले जग्गाको भाडा बढाए । थापा डराएनन् । बरु पैसा कमाएर केही जमिन आफ्नै नाउँमा पनि किन्न थाले । केही चर्को मूल्य भएपनि भाडा तिरेर निरन्तर खेतीपाती गरे । भाइ अनिल गंगाको काममा साथ दिन गाउँबाट सदरमुकाम झरे । भाइको साथ पाएपछि गंगाबहादुरले उत्पादनमा मात्रै केन्द्रीत हुनुपरेन । उनले सिंगो गौडाकोट सहित जिल्लाकै कृषि योजनाको काम गर्न थाले । गंगाकी पत्नि लक्ष्मीले पनि कृषि फसललाई बजार लैजाने काम थालिन् । 

उनको मिहेनतले झण्डै १ हजार रोपनीमा फैलिएको गौंडाकोटसहित नजिकैको बुकेनी, बोक्से, तित्याङको ठूलोढुंगासम्मका किसान उत्पादनमा जोडिएका छन् । अन्य गाउँका युवा पनि धमाधम कृषि पेशामा आउन थाले । स्थानीय नारायण उपाध्यायले आफ्नै बाँझीएको जमिनमा आबादी गरेर तरकारी र माछा पालन थाले ।

दमेकका चन्द्रबहादुर छन्तयाल पनि यहीं झरे। धम्जा, भकुण्डे, तित्याङ र रायडाँडाका किसानहरुले यहाँ आएर बंगुर पालन, माछा पालन, रायो साग लगाए । सबै प्रकारका कृषि फसलकालागि काम शुरु गरे ।

थापाकै अगुवाइमा किसानहरु ‘मिर्मिरे कृषि सहकारी’मा आबद्ध भए । बजारमा पनि सहकारीका सदस्यहरुले कृषि फसलकै पसल संचालन गरेका छन् । उक्त सहकारी मार्फत संकलन केन्द्र र बजारीकरणको काम थालियो । ‘अहिले हाम्रो सहकारीमा ३ सयबढी किसान आबद्ध भएका छन्’ उनले भने, ‘अधिकांशले व्यवसायिक उत्पादन गर्छन् भने केहीले तिनै उत्पादनको बिक्री गर्छन् ।’

यतिबेला बागलुङ बजारको आधाबढी माग मिर्मिरेको उत्पादनले ढाकेको छ । बिहान बागलुङ बजारमा डोकोमा बोकेर लैजने किसान देखि पसलपसलमा राख्ने तरकारी यहींबाट पुग्छ । सुख्खा सिजनका केही तरकारी पोखरा र तराइबाट आएको उनले बताए । तर अन्य समय बजार आसपासको गौंडाकोट, तित्याङ, भकुण्डे, रायडाँडा, ढोडेनी र कुँडुलेकै तरकारीले बजार ओगटेको छ । रात्माटा र गौडाकोटमै कुखुराका ठूला फर्म खुलेका छन् । अण्डा र मासुमा पनि बाहिरको आयात गर्न नपर्नेर् भैसकेको छ । काठेखोला, कुँडुले र बलेवाको दूधले अधिकांश बजार ओगटेको छ ।

नगरपालिकाले तरकारी, दूध, अण्डा र गोलभेडामा आत्मनिर्भर बनाउने नीति समेत लिएको छ । उक्त नीतिलाई पूरा गर्न किसानको बजारीकरणमा साथ दिने, उन्नत बीउ र मलमा पनि नगरपालिकाले साथ दिने कार्यक्रम राखेको नगर प्रमुख  बसन्तकुमार श्रेष्ठले बताए । कृषि ज्ञान केन्द्रले त च्याउ र हरियो तरकारी खेतीबारे बेलाबेला तालिम समेत गौंडाकोटमै लगेर संचालन गर्न थालेको छ । 

हट्टाकट्टा ज्यान भएकोले गंगाबहादुरलाई बाबुआमाले सेनामा भर्ती भैदिए हुन्थयो भन्ने सोचेका थिए । तर थापाले जागिरमा मन गरेनन् । आइएसम्मको अध्ययनपछि थापाले पढाइ पनि छाडे । बरु कृषि पेशामै लागिरहेपछि सिटिइभिटिको प्राविधिक जेटिएको परीक्षा पास गरे । भाडामा जग्गा लिएर खेती गरेका किसानहरु मिलेरै गौडाकोटलाई ‘नयाँ कृषि सहकारी गाउँ’ नामाकरण समेत गरेका छन् । 

थापासहित उनको सहकारीका सदस्यको सफलताले देशभरका सहकारी, अगुवा किसान, कृषि विकास कार्यालय, संचारकर्मी समेतको ध्यान तानेको छ । भ्रमणमा आउनेहरु गौडाकोट अबलोकनकालागि पुग्छन् । ‘मेहेनत गरेपछि माटो खेलेपनि हिरो बन्न पाइने रहेछ’ थापाले भने, ‘अहिले दिन दिनै मेरो अन्तरवार्ताका लागि पत्रकार समेत आउने गरेका छन् ।’ सबैको चासो र माया पाएकोले माटोमा खेल्न हौसला थपिएको उनले बताए । 

अहिले त थापा कृषि क्षेत्रको विकासका लागि योजना बनाउँछन् । स्थानीय तह, ज्ञान केन्द्र र गैरसरकारी संस्थाले उनलाई बिज्ञको रुपमा बेलाबेला सल्लाहका लिन बोलाउने गरेका छन् । यहाँको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले जिल्लाभित्र १० वटा वातावरणमैत्री नमूना कृषि गाउँ बनाउने लक्ष्य राखेको छ ।

त्यसमा पनि थापा विज्ञ सदस्य छन् । ‘थापालाई कृषि प्राविधिक बनाउने काममा पनि हामीले साथ दियौं, अहिले पनि बिज्ञको रुपमा समय मागेका छौं’ सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले भने ‘मेहेनतको अर्को नाम गंगाबहादुर हो ।’ उनले गर्न सक्छन् भनेर बिज्ञ राखिएको बताए । 

”Hero” playing with mud

गौंडाकोटमा काम गर्ने अरु धेरै किसान छन् । ‘मौषमी खेती मात्र गरेर फाइदा हुँदैन’ थापाले भने, ‘कृषि फसल उत्पादन गर्दा पनि बढी फाइदा कमाउने उपाया रोज्नु पर्छ ।’ फाइदा कमाउनका लागि यहाँ रसायनिक मल भने प्रयोग गरेका छैनन् । ९२ जना किसान त प्लाष्टिकका हाइटेक बनाएर काम गर्नेहरु रहेको थापाको तथ्यांक छ । बारीमा नियमित खेती र तरकारी फलाएर बजार लैजाने ३ सय बढी छन् । उनीहरु मध्ये ९० प्रतिशत गाउँबाट झरेकाहरु हुन् ।

थापाको अगुवाईमा म्याग्दीको बेनी नगरपालिका ३ को भकिम्लीमा १ सय रोपनी जमिनमा किवी खेती गरिएको छ । त्यस बाहेक यहाँको १ हजार रोपनी जमिन उपयोग गरेर फलफूलको हव बनाउने लक्ष थापाले सुनाए । यो अभियानमा भने १९ जना किसान छन् । म्याग्दीका तारासिंह पुन, गलकोटका गुमानसिंह भण्डारी लगायतपनि समूहमा जोडिएका छन् ।

उनीहरु यस अघिनै थापा जस्तै प्लाष्टिक टनेलमा तरकारी फलाईरहेका किसान हुन् । भकिम्लीमा ४ जना कामदार राखेर उनीहरुले किवी, तरकारी र अन्य फलफूलको पनि तयारी गरिरहेका छन् । ‘ट्रकमा खेप हालेर बजार पठाउने वृहत योजना बनाएका हौं, सफल पनि  हुन्छौं’ थापाले भने, ‘अहिले सम्म तीन करोड बढी लगानी भैसकेको छ ।’ यो अभियानमा थापाले मात्रै झण्डै १ करोड लगानी गरेको बताए । 

उनले आम्दानी मात्र नभइ कृषि पर्यटनको विकास गर्ने योजना सुनाए । उनीहरुको वृहत योजना देखेपछि कतिपय प्राइभेट बैंकले लगानी समेत गर्न खोजेका छन् । तर उनीहरुले सकेसम्म किसान र उद्यमीकै लगानीबाट काम गर्न खोजेका छन् । ‘कुनैबेला २५ हजार ऋण नपाएर समयमा तरकारी फलाउन नपाएको उनको पीडा छ ।

‘मलाई नपत्याएपछि बुबाले खोजेल दिएको ३० हजारबाट कृषिलाई व्यवसायिक बनाएको थिएँ,’ थापा भन्छन्, ‘अहिले आफ्नै कमाइ पनि छ, उत्पादन गरेर राज्यलाई देखाउने हो ।’ युवा पुस्तालाई कृषिमै भविष्य छ भनेर देखाउने गरी काम गरेको उनले बताए । उनले किसानको बारी र मेहेनत हेर्न आउनेका लागि ‘एग्रो टुरिजम’ बनाउने लक्ष्य सुनाए ।

‘अब किसानको बारी हेर्न आउनेले पनि बागलुङका होटल चल्छन्,’ थापा भन्छन्, ‘यो कल्पना होइन, गरेर देखाउने हो ।’ सहकारी भ्रमणमा आउनेहरुले त एकपटक थापाको कृषि फर्म पुगेर अबलोकन गर्न थालिसकेका छन् । 

कृषि ज्ञान केन्द्रले बेलाबेला थापाको फर्ममा लगेर च्याउ उत्पादन सम्बन्धी तालिम संचालन गर्छ । त्यस बाहेक ताजा तरकारी उत्पादनको नर्सरी संचालनमा पनि केन्द्रले सहकार्य गरेको छ । ‘हामीले उहाँलाई सिकाउने भन्दा पनि उहाँको नर्सरीमा हामीले प्रविधि बारे जानकारी दिने मात्रै हो’ ज्ञान केन्द्रका प्रमुख राजेन्द्र सिलवालले भने, ‘नयाँ किसानलाई प्रोत्साहन गर्न थापाको मेहेनत र नर्सरीलाइ हामीले प्रयोग गरेका हौं ।’

थापा आँफै प्रशिक्षक भएर पनि धेरै तालिम दिने गर्छन् । थापाले समय मिलाएर कतिपय गाउँका किसानलाई प्रविधि सिकाउने गरेका छन् । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully