ढोरपाटनका मेयर नेपालीले भने- 'सहकारीकै रकमले घरजग्गा किनेको हुँ, फिर्ता गर्छुु'

माघ २४, २०८०

प्रकाश बराल

बागलुङ — इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले सहकारीकै रकमले घरजग्गा किनेको स्वीकार गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै आफू र पत्नी छेलाका नाममा रहेको जग्गा तथा घरमा सहकारीको रकम लगानी गरेको बताएका छन् ।

जनताको बचतको रकम, बैंकको ऋण समेतबाट किनेको जग्गा र घरको कित्ता र क्षेत्रफल उनले सार्वजनिक गरेका छन् ।

‘हामी जनताको बचत फिर्ता गर्न घर जग्गा बेच्न पनि तयार छौं,’ उनले भनेका छन्, ‘प्रहरीको रेड कर्नर नोटिस, अदालतमा परेको मुद्दा र संघर्ष समितिमार्फत आक्रोशित जनताका कारण त्यो बिक्री गर्ने वातावरण बनेको छैन ।’ राज्यका निकायले वातावरण बनाइदिएमा आफू घरजग्गा बेचेर रकम फिर्ता गर्न तयार रहेको पनि उनले उल्लेख गरेका छन् ।

गत मंसिर ५ गते फेसबुक लाइभमा आएका नेपाली त्यसपछि सम्पर्कमा थिएनन् । सहकारी पीडित बचतकर्ताले उनको घरजग्गाको कित्तासमेत उल्लेख गरेर लिलाम बिक्रीको प्रयास थालेको साता दिनपछि नेपालीको विज्ञप्ती आएको हो । दुई साताअघि सहकारीका बहुमत सेयर सदस्य मिलेर विशेष साधारणसभा समेत गरेका थिए । साधारणसभाले पनि बैंकमा धितोमा रहेका घरजग्गा बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेको थियो ।

नेपालीले राष्ट्रिय सहकारी बैंक, गरिमा बिकास बैंक र ग्लोबल आईएमई बैंक समेतमा ३५ करोड रुपैयाँ ऋण लिएको देखिएको छ । त्यसबाहेक सहकारीको १ अर्ब ५४ करोड रकम हिनामिना गरेको देखिएको छ ।

रकम हिनामिना गरेको आरोप लगाउँदै नेपालीसहित सहकारीका तत्कालीन व्यवस्थापकहरुविरुद्ध १ हजार ५ सय ४८ जना बचतकर्ताले सहकारी ठगी मुद्दा दिएका थिए । मुद्दा अनुसार सहकारीका कोषाध्यक्ष सहितका पदाधिकारी र सदस्य पक्राउ परेका छन् । नेपाली दम्पती भने जेठदेखि फरार छन् ।

गत वैशाख ६ गतेदेखि तरलता अभाव देखाएर सहकारी बन्द छ । जेठ ५ गतेदेखि नेपाली फरार छन् । उनीविरुद्ध नेपाल प्रहरीको इन्टरपोलले रेडकर्नर नोटिससमेत जारी गरिसकेको छ । यो नोटिसका आधारमा विश्वका जुनसुकै देशको प्रहरीले उनलाई पक्राउ गर्न सक्छ । 

ढोरपाटनमा पहिरोपीडितका नाममा चार वर्षअघि संकलन भएको नगद राहत रकमसमेत उनले तत्कालीन नगर उपप्रमुखसहित अन्यको नाममा चेक बनाएर झिकेको भेटिएको छ ।

पीडितका नाममा संकलन भएको ३ करोड रुपैयाँ नगरपालिकाको खातामा नभेटिएपछि गत असारमा नीति तथा कार्यक्रम र बजेट निर्माणको बेला यो कुरा बाहिर आएको थियो । त्यतिबेला नेपाली फरार भइसकेका थिए । कार्यवाहक नगर प्रमुखका रुपमा उपप्रमुख धनबहादुर कायतले बजेट ल्याएका थिए । 

सम्बन्धित समाचार :-

ढोरपाटनका मेयर नेपालीलाई पक्राउ गर्न 'रेड कर्नर नोटिस'

बचतकर्ताको डेढ अर्ब हिनामिना गरी ८ महिनादेखि मेयर फरार

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully