बागलुङ — इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापकसमेत रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली बचतकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना पारेर फरार भएको ८ महिना नाघिसक्यो ।
गत वैशाख ७ मा रकम अभाव भएको सूचना जारी गर्दै उनी फरार भएका हुन् । त्यसयता पीडितहरू आन्दोलनमा छन् तर नेपाली हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
नेपालीका नाममा बैंक र सहकारीमा पनि २२ करोड रुपैयाँ ऋण छ । सहकारी पीडित संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले शुक्रबार पनि पीडितले गण्डकी प्रदेशको सहकारी मन्त्रालयसमक्ष आफ्नो रकमको सुरक्षा र तत्काल फिर्ता गर्ने वातावरण बनाइदिन ज्ञापनपत्र बुझाएको बताए ।
फरार नेपाली गत मंसिर ५ मा फेसबुक लाइभमा आएका थिए । तर, उनलाई पक्राउ गर्न प्रहरीले चासो नदेखाएको पीडितको आरोप छ । ‘हामीले खोजिरहेका छौं,’ जिल्ला प्रहरीका मुद्दा शाखाका निरीक्षक दीपक केसीले भने, ‘उजुरी परेका अरू पात्र पक्राउ परिसकेका छन्, उनीहरूकै सहयोगमा नेपालीको पनि खोजी भइरहेको छ ।’
पीडित १ हजार ५ सय ५० जनाले जिल्ला अदालतमा सहकारी ठगीमा जाहेरी दिएका छन् । जसमा उनीहरूको १ अर्ब ६० करोड रुपैयाँ हिनामिना भएको उल्लेख छ । मुद्दाकै आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परेका हुन् । उनीहरूलाई जिल्ला अदालत बागलुङले साउन ५ मा पुर्पक्षका लागि थुनामा पठाएको छ ।
