कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभा ओखलढुंगा (१) मा कांग्रेसका प्रदीप सुनुवार विजयी

कुम्भराज राई

ओखलढुंगा — प्रदेशसभा १ मा वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतले पछि पार्दै निर्वाचित भए ।

प्रदेशसभा ओखलढुंगा (१) मा कांग्रेसका प्रदीप सुनुवार विजयी

सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्त गरे । गुरुङले १४ हजार ५ सय ५६ मत प्राप्त गरे ।

को हुन् सुनुवार ?

खिजिदेम्बा गाउँपालिका ५, खिजिफलाँटे स्थायी ठेगाना भएका सुनुवार २०२७ वैशाख १७ बुवा शान्तबहादुर र आमा फूलमाया सुनुवारको जेठो छोरोको रुपमा जन्मिएका थिए । २०३९ सालमा सुरुमा अखिलको विद्यार्थी राजनीतिमा आबद्ध भएका थिए । २०४२ मा नेविसंघ दोलखाको जिरिमा इकाई कमिटीमा रही अखिलको राजनीति छोडे । २०४३ सालमा कांग्रेस निकट युवक संगठनको गाउँ सभापति बने । २०४८ मा कांग्रेसको क्षेत्रीय समिति सदस्य भए ।

२०४९ मा कांग्रेसको जिल्ला सदस्य भए । नवौं महाधिवेशन २०५२ देखि हालसम्म निरन्तर महाधिवेशन प्रतिनिधिको रुपमा पार्टीमा निर्वाचित भए ।

नवौं महाधिवेशनबाट जिल्ला समितिको सहसचिव, १० औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र पार्टी विभाजन भई कांग्रेस प्रजातान्त्रिक भएपछि पार्टीको जिल्ला उपसभापति बने । पार्टी एकीकरण पछि फेरि जिल्ला उपसभापति भए । ११ औं र १२ औं महाधिवेशनबाट दुईपटक जिल्ला सभापति बने । १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए ।

२०७४ को निर्वाचनमा प्रदेशसभा २ बाट उम्मेदवार बने पनि कांग्रेसकै बागी उम्मेदवारको कारण पराजित भएका थिए । २०५४ मा खिजिफलाँटे गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनी जिल्ला खेलकुद विकास समिति अध्यक्ष २०५१ सालमा र पछि गरी दुई पटक नियुक्त भएका थिए ।

२०६२/०६३ को जनआन्दोलनमा तरुण दलको अञ्चल संयोजक भई आन्दोलनमा सहभागी हुँदा पटक-पटक हिरासतमा परे । कांग्रेस पार्टी विभाजनदेखि नै सुनुवार शेरबहादुर देउवा समूहमा छन् । साविकको सगरमाथा अञ्चलका जिल्लाहरुमा देउवा समूहको उपस्थिति शून्य हुँदा्समेत जिल्ला सभापति बनेका थिए ।

प्रदेश १ सरकार वाम-लोकतान्त्रिक गठबन्धनले निर्माण गर्ने हो भने उनलाई मुख्यमन्त्रीका दाबेदारको रुपमा समेत प्रस्तुत गरिएको छ । ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ का कूल मतदाता ५६ हजार ७ सय ३३ मध्ये ३१ हजार ४ सय ६३ मत खसेको थियो । सुनुवारका प्रतिद्वन्द्वी गुरुङ नेकपा एमालेका प्रदेशस्तरीय नेता तथा प्रदेश १ सरकारका पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत हुन् ।

प्रकाशित : मंसिर ७, २०७९ ००:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?